जनकपुर- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अधिकार प्राप्तीका लागि विचार मिल्ने पार्टी एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
पार्टीको २ नम्बर प्रदेशले जनकपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टराईले सो कुरा बताएका हुन्। उनले २०७२ सालमा जारी भएको संविधानमा धेरै कुरा नसमेटिएकोले संशोधन गरी अघि बढ्नुपर्ने धारणा राखे।
पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले दुई तिहाई पाएको कम्युनिस्ट सरकारले जनताका लागि उल्लेखनिय काम गर्न नसकेको जिकिर गरे।
मधेशका जनताले लोकतन्त्रका लागि खेलेको योगदानको प्रशंसा गर्दै उनले भने, ‘मधेसी जनताको अधिकारका लागि बैकल्पिक शक्तिको रुपमा विचार मिल्नेसँग मिलेर जानुपर्छ।’
लक्ष्य अनुरूप काम गर्न नसकेको भन्दै उनले वर्तमान सरकारलाई फोहर समुद्रको संज्ञा दिए। ‘देशमा व्यापार घाटा छ। रोजगारीमा कुनै प्रगति छैन। आर्थिक क्षेत्रमा समेत यो सरकार विफल छ,' उनको भनाइ थियो।
प्रदेश सकरकारका मुख्यमन्त्रीभन्दा प्रमुख जिल्ला अधिकारीलाई शक्तिशाली बानाउँन खोजिएको भन्दै उनले भट्टराईले आपत्ति जनाए।
फरक प्रसंगमा नेता भट्टराईले सिके राउतलाई वार्तामा ल्याउँदा रेशम चौधरीलाई किन सौताको ब्यवहार गरियो भन्दै सरकारलाई पश्न गरे।
उनले सीके राउतलाई पहिल्यै छलफलका लागि बोलाउँदा आफूमाथि विदेशी दलाल भनिएको बताए।
भट्टराईले अहिलेको सरकार सबै शक्ति र अधिकार आफू अनुकुल बनाउँन उद्धत रहेको आरोप लगाए।
सरकारविरुद्ध अब अन्य पार्टी एक जुट भएर अघि बढनुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।