नयाँ दिल्ली- भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा सदस्यका लागि केरलाको वायानादबाट निर्वाचन लड्नेगरी उम्मेदवारी दर्ता गराएका छन्।
वायानादमै पुगेर गान्धीले स्थानीय समय अनुसार विहान ११ बजेतिर उम्मेदवारी दर्ता गराउनु भएको पार्टीका महासचिव के.सी. भेनुगोपाले बिहीबार जानकारी दिए।
उनले बिहीबार नै महाराष्ट्रको नागपुरमा आयोजित चुनावी र्यालीलाई समेत सम्वोधन गरेको समाचारमा जनाइएको छ।
पार्टीको प्रदेश समितिको आग्रहमा गान्धीले वायानादबाट लोकसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन्।
काँग्रेसको केरला प्रदेशका अध्यक्ष एम आई शानावासको गत वर्ष निधन भएपछि खाली भएको ठाउँमा गान्धीले उम्मेदवारी दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यस निर्वाचन क्षेत्रबाट शानावास सन् २००९ र २०१४ मा गरी दुई पटक निर्वाचित भएका थिए। यो ठाउँ काँग्रेसको लागि जित्न सजिलो ठाउँ मानिन्छ।
वायानाद बाहेक उत्तर प्रदेशको अमेठीबाट पनि गान्धीले उम्मेदवारी दिन लागेका छन्। अमेठीमा उनले बाहलवाला शिक्षामन्त्री स्मृति इरानीसँग प्रतिस्पर्धा गर्नेछन्।
यसअघि मार्च ७ मा काँग्रेसले घोषणा गरेको पार्टीबाट निर्वाचन लड्नेहरुको पहिलो सूचीमा अध्यक्ष गान्धी अमेठीबाट मात्रै उम्मेदवार बन्ने उल्लेख थियो।
उहाँले दुई ठाउँबाट उम्मेदवारी दिन लागेको विषयलाई काँग्रेसका नेताहरुले आवश्यकता भनेका छन् भने प्रमुख प्रतिस्पर्धी भारतीय जनता पार्टी (भाजपा)का नेताहरुले गान्धी डराएको वा आफ्नो एक ठाउँको जितमा ढुक्क हुन नसकेको रुपमा व्याख्या गरेका छन्।
भारतमा यही अप्रिल ११ देखि मे १९ सम्म ७ चरणमा आम निर्वाचन हुन लागेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।