काठमाडौं- बद्रि पंगेनीलाई गायकका रूपमा नचिन्ने नेपाली कमै होलान्। त्यसमा पनि लोकदोहोरीका क्षेत्रमा त पंगेनीको पहिचान नै छुट्टै छ। उनका दोहोरी गीत सुन्नेहरूको जमात पनि नेपाली संगीत बजारमा उल्लेख्य संख्यामा छ।
तर पंगेनी गीत संगीतमा मात्र सीमित छैनन्। कमैलाई मात्र थाहा होला कि उनी एक सफल संगीतका साथै खेलकुदमा पनि उतिकै रुचि राख्छन् भनेर।
विशेषगरी, फुटबल प्रति गहिरो झुकाव राख्ने पंगेनी बिहिबार बिहानै क्रिकेटको ब्याटसँग रमाइरहेका भेटिए। पंगेनी काठमाडौंको मूलपानी क्रिकेट मैदानमा अभ्यास खेल खेलिरहेका थिए।

जर्सी, प्याड, ब्याट अनि उत्साहका साथ मैदान उत्रिएका बद्रि भन्दै थिए, ‘आज चौका, छक्का पड्काइन्छ।' उनी एक उत्कृष्ट खेलाडी हुन् भन्ने कुरा उनको उत्साह र जाँगर देख्दा अनुमान लगाउन गाह्रो थिएन। तर उनले केही बर्ष यता क्रिकेटको ब्याट समेत समाउन भ्याएका थिएनन्। सुनाए, ‘दुई तीन वर्षपछि हिजोबाट क्रिकेट ब्याट समाएको हो।’
पाल्पाको रामपुरमा जन्मिएका पंगेनीले आफ्नो बाल्यकाल सम्झँदै सुनाए, ‘गाँउमा क्रिकेटभन्दा फुटबलको क्रेज बढी थियो। त्यसैले फुटबल धेरै खेल्थ्यौं तर क्रिकेटमा पनि हाम्रो सहभागिता रहन्थ्यो। लाग्छ म ११/१२ वर्षको हुँदा नै म क्रिकेटको फ्यान थिएँ। मिति त थाहा भएन तर उतिबेलाको विश्वकप क्रिकेटपछि म झनै यसको फ्यान भएको हुँ।’

किन पुगे त पंगेनी क्रिकेट मैदान?
कलाकार सुनील थापा खेलको रेफ्रीका रुपमा हात हल्लाइरहेका थिए। बद्रिसँग साझेदारीमा थिए, निराजन प्रधान। त्यस्तै फिल्डिङमा थिए वरिष्ठ कलाकार नीर शाह, कुमार कट्टेल (जिग्री), कमलमणि नेपाललगायतको टिम।
प्रसंग हो, शनिबार किर्तिपुर क्रिकेट रंगशालामा हुन लागेको मातृभूमि कपका लागि अभ्यास गर्न पंगेनीसहित अन्यकालाकारहरू मैदानमा प्रवेश गरेका थिए।
केही समयको ब्याटिङपछि मैदानबाट बाहिरिएका पंगेनीले राष्ट्रलाई चिनाउने भनेको खेल, कला, साहित्य र संगीत नै रहेकाले यसको विकासका लागि मैदानमा क्रिकेट ब्याट र बलसहित मैदान प्रवेश गरेको बातए। उनले थपे, ‘कलाकार र खेलाडीका नामबाट पनि राष्ट्रको पहिचान बन्न सक्छ र जुन कुरा हामी यो देशको यो कलाकार वा यो खेलाडी भनेर चिन्ने गर्दछौं। त्यसकारण हाम्रो देशको लागि पनि एउटा अन्तराष्ट्रिय क्रिकेट रंगशालाको आवश्यकता छ भन्ने हिसाबले रंगशाला निमार्णमा सहयोगका लागि आज प्रवेश गरेको हो।

निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग जुटाउनका लागि शनिबार मातृभूमि कप क्रिकेट प्रतियोगिता हुँन लागेको हो।
जहाँ राष्ट्रिय क्रिकेट टिम ‘ए’ र ‘बी’तथा मदनकृष्ण श्रेष्ठको टिम कलाकार (ए) र हरिवंश आचार्यको टिम (बी) बीच क्रिकेट खेल सम्पन्न हुनेछ।
यही रंगशाला निर्माणको अभियानका लागि पंगेनीले एक नयाँ गीत पनि तयार पारेको रहेछन्। भेटमा केही शब्द पनि गुनगुनाएर सुनाएः
समृद्ध देश बनाउने मन छ नेपालीको,
गौतमबुद्ध रंगशाला बन्छ नेपालीको ।।
दुर्गा पंगेनीको शब्द र बद्रि पंगेनीकै स्वर तथा संगीत रहेको गीत रेकर्ड भइसकेको छ। जसको शनिबार हुन लागेको खेलमा छायांकन समेत हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।