काठमाडौं- महासमिति बैठकको म्यान्डेट विपरीत विधान पारित भएको भन्दै केन्द्रीय समितिको निर्णय विरुद्ध संस्थापन इतर पक्षले गरेको भेला विषयान्तर भएको छ।
केन्द्रीय समितिले पदाधिकारी सहित केन्द्रीय सदस्य स्वतः महाधिवेशन बन्ने प्रावधान सहितको विधान पारित गरेपछि जिल्ला सभापतिहरू असन्तुष्ट बनेका थिए। संस्थापन पक्षलाई दबाब दिनका लागि डाकिएको वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहका जिल्ला सभापतिहरु रक्षात्मक अवस्थामा पुगेका छन्।
यसअघि ककनीमा भएको जिल्ला सभापतिहरूको भेलामा सञ्चार माध्यमलाई कार्यक्रम स्थल पुर्याइ समाचारलाई प्राथमिकता दिएका जिल्ला सभापतिले बिहिबार भने पत्रकारलाई जानकारी दिनबाट हच्किए।
पार्टी नेता प्रकाशमान सिंहको चाक्सीबारी स्थित निवासको ठीक अघि काठमाडौ होटलमा बैठक जारी छ।
संस्थापन समूहले भेला प्रति आपत्ति जनाएपछि बैठक नयाँ विषयमा प्रवेश गरेको थियो। सञ्चारकर्मीलाई बैठक परिसरमा देख्नै नचाहेका जिल्ला सभापतिलाई पत्रकारहरुले निरन्तर जानकारी माग गरेपछि प्रतिक्रिया दिन काठमाडौं जिल्ला सभापति सबुज बाँनिया बाहिर आएका थिए।
बानियाँले हुरी प्रभावितका लागि सहयोग र सरकारका विरुद्धका ७७ जिल्लामा विरोधका कार्यक्रम गर्ने गरी छलफल केन्द्रीत भएको बताए। उनले भने, ‘सभापतिका विरुद्धमा बैठक बसेको होइन। आवश्यक सुझाव दिनका लागि सामान्य छलफल हो।’
बैठक स्थलबाट बाहिरिदै गरेका डडेल्धुरा सभापति कर्ण बहादुर मल्लले सरकारको अधिनायकवादी शैली विरुद्ध छलफल भएको बताए।
यसअघि सभापति देउवा निकट मकवानपुर जिल्ला सभापति इन्द्र बाँनियाले हेटौंडामा पत्रकार सम्मेलन गरी भेलाको कडा प्रतिवाद गरेका थिए। बारा र पर्सामा परेको विपतको बेलामा गुटको भेला गरिएको भन्दै आपत्ति जनाएका थिए। बानियाँको पत्रकार सम्मेलन लगत्तै बसेको जिल्ला सभापतिहरुको बैठक हुरी प्रभावितको राहतको विषयमा केन्द्रित हुन पुगेको थियो।
चार दर्जन बढी जिल्ला सभापतिको सहभागिता हुने दाबी गरेको उक्त समूहका जिल्ला सभापतिले बैठकमा रहेको संख्या फरकफरक बताएका छन्। चालिसभन्दा बढी जिल्ला सभापति बैठकमा सहभागी भएको दाबी गरिएपनि तीस जनाको हारहारी सभापति रहेको एक सभापतिले बताए।
बैठकका निर्णय औपचारिक रुपमा बिहिबार सार्वजनिक गरिने बाँनियाले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।