काठमाडौं– नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पुनः राष्ट्रिय भेला बोलाएका छन्। केन्द्रीय समितिको बैठकले महासमितिले अनुमोदन गरेको निर्णयलाई उल्टाइदिएपछि जिल्ला सभापतिको राष्ट्रिय भेला डाकिएको हो।
महासमितिमा गरिएको प्रतिबद्धता विपरीत विधान पारित भएपछि जिल्ला सभापतिहरुले आज र भोलिको लागि भेला डाकेका हुन्।
जिल्ला सभापतिहरुको ककनी भेलाका सुझावका साथै महासमितिमा गरिएको प्रतिबद्धतालाई केन्द्रीय समितिले लत्याएकाले जिल्ला सभापतिको भेला डाकिएको काठमाडौं जिल्ला सभापति सबुज बानियाँले बताए।
संस्थापन इतर समूहका जिल्ला सभापतिहरुले बोलाएको भेलालाई अवैधानिक भन्दै सभापति शेरबहादुर देउवा पक्षका जिल्ला सभापतिहरु भने सहभागी नहुने भएका छन्। देउवा पक्षीय मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँले भने, 'सभापतिलाई तेजोवध गर्न भेला बोलाइएको छ। विधान विपरीतको भेलाको औचित्य छैन।'
पदाधिकारीसहित केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधानलाई विधानबाट हटाउनका लागि जिल्ला सभापतिहरुले आवाज उठाउँदै आएका थिए। साथै, समानुपातिक प्रणालीका लागि राखिएको आरक्षण व्यवस्थामा एक व्यक्तिले एक पटकभन्दा बढी अवसर पाउन नहुने जिल्ला सभापतिहरुले प्रस्ताव गरेका थिए।
पुस ८ मा सकिएको महासमिति बैठकमा चार दर्जनभन्दा बढी जिल्ला सभापतिहरुले लिखित रुपमै उक्त प्रस्तावका लागि अभियान चलाएका थिए।
जिल्ला सभापतिहरुको प्रस्तावलाई अधिकांश महासमिति प्रतिनिधिले समर्थन गरेका थिए। देउवा पक्ष जिल्ला सभापतिहरु महासमिति बैठकले प्रस्तावलाई अनुमोदन नगरेको बताउँछन्।
जिल्ला सभापति र अन्य प्रतिनिधिहरुको प्रस्ताव अनुरुप केन्द्रीय समितिले विधान पारित गर्ने पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिबद्धता जनाएका थिए।
महासमिति बैठकमा गरिएको प्रतिबद्धता विपरीत केन्द्रीय समितिले फागुन १२ मा बहुमतको आधारमा पुरानै प्रावधान कायम राख्ने निर्णय गरेको थियो। पौडेल र कृष्णप्रसाद सिटौला समूहका नेताले बैठकमा लिखित असहमति राखेका थिए।
पौडेल र सिटौला समूहको आड पाएका जिल्ला सभापतिहरुले राष्ट्रिय भेला बोलाएका हुन्। चार दर्जन बढी जिल्ला सभापति भेलामा उपस्थित हुने नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले बताए। भेला पार्टी नेता प्रकाशमान सिंहको चक्सिबारीस्थित घरको नजिक हुने बताइएको छ।
गत महिना ५६ जिल्ला सभापतिहरुले सामूहिक विज्ञप्ति निकालेर केन्द्रीय समितिको निर्णयको विरोध गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।