काठमाडौं- चित्रकार रञ्जु यादवको पहिलो एकल मिथिला चित्रकला प्रदर्शनी काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी छ। चैत १६ गते सुरु भएको पाँच दिवसीय प्रदर्शनी चैत्र २० गतेसम्म चल्ने छ। प्रदर्शनीमा यादवका २९ वटा कलाचित्र प्रदर्शित छन्।
व्यावसायिक रुपमा मिथिला चित्रकलामा ६ वर्षदेखि सक्रिय यादवले पछिल्लो तीन वर्षमा कोरेका चित्रहरु एकल प्रदर्शनीमा राखिएको छ।

नेपाली समाजमा भएका परिवर्तनलाई मात्र नभई समाज निरन्तर परिवर्तन र गतिशील हुनुपर्ने आफ्नो चाहनाअनुसार आफ्ना चित्रहरु कोरेकोले प्रदर्शनीको नाम ‘कलर्स अफ चेन्ज’ राखिएको उनले बताइन्।
प्रदर्शित कलाचित्रहरुमध्ये केही चित्रहरु नेपालको तराईमधेस र मिथिला क्षेत्रको संस्कृति, परम्परा र जीवनशैली भल्काउने खालका छन् भने अधिकांश चित्रहरु समाजमा व्याप्त विकृति, विसंगति र समस्यालाई उजागर गर्दै त्यसको विरोधमा कोरिएका छन्।

विशेषगरी दाइजो प्रथा, बालिका भ्रुण हत्या, बाल विवाह, जातीय छुवाछुत, महिला हिंसा, महिला पुरुष असमानता जस्ता जल्दोबल्दो समस्या र विकृतिलाई चित्रकार यादवले आफ्ना कलाचित्रमार्फत देखाएकी छन्।
'हाम्रो समाज र मुलुकमा विद्यमान सामाजिक र सांस्कृतिक विकृति, विसंगति र अन्यायविरुद्ध आफ्ना कलाचित्रहरुमार्फत मैले आफ्ना असहमति र रिस पोखेको हुँ,' उनले भनिन्, 'रङ्ग र ब्रस मेरा लागि हतियार हुन्। आर्ट पेपर र क्यान्भासमा प्रयोग गरेर समाजमा शताब्दीयौंदेखि विद्यमान् अन्याय, अत्याचार र विकृतिविरुद्ध म लड्ने गर्छु।'

चित्रकार यादवका कलाचित्रका चीन चरणहरु पाइन्छ। पहिलो, समाजमा व्याप्त समस्या र विकृतिको चित्रण। दोस्रो, समस्या र विकृतिसँग द्वन्द्व एवम् संघर्ष। तेस्रो, ती समस्या र विकृतिको समाधान।
आफूले समाजमा विद्यमान् विसंगति, विकृति र अन्यायको चित्रण मात्रै आफ्नो चित्रहरुमा नगरेको भन्दै चित्रकार रन्जुले त्यसको समाधान पनि आफ्ना चित्रहरुमार्फत् सुझाएको बताइन्।

तराईमा व्याप्त दाइजो/दहेज प्रथालाई लक्षित गर्दै त्यसको विरोधमा कोरिएका तीन वटा चित्र यादवले प्रदर्शनीमा राखेकी छन्। यस्तै, पति वैदेशिक रोजगारमा गएपछि पत्नीले घरपरिवारदेखि घरबाहिरका सबै काम सम्हाल्नुपरेकोले त्यसले गर्दा महिला सशक्तीकरण हुने अवस्थाको चित्रण पनि उनको चित्रमा पाइन्छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।