गत असारमा मकमानपुरको हेटौंडामा सम्पन्न भएको जिल्ला सभापति।
लिलु डुम्रे/काठमाडौं– संस्थापन इतर समूहका जिल्ला सभापतिहरुले बोलाएको भेलाप्रति सभापति शेरबहादुर देउवा पक्षीय जिल्ला सभापतिहरूले आपत्ति जनाएका छन्।
देउवा पक्षका जिल्ला सभापतिहरू कांग्रेस विधानमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधान प्रति समर्थन जनाएका छन्। तर सोही प्रावधानको विरोधमा संस्थापन इतर समूहका जिल्ला सभापतिले भेला आयोजना गर्न लागेपछि सभापति शेर बहादुर देउवा पक्षका जिल्ला सभापतिहरूले आपत्ति जनाएका हुन्।
महासमिति बैठकमा गरिएको प्रतिबद्धता विपरीत केन्द्रीय समितिले बहुमतको आधारमा विधान पारित गरिएको भन्दै बहुमत जिल्ला सभापतिले आपत्ति जनाएका छन्।
संस्थापन इतर समूहका जिल्ला सभापतिले केन्द्रीय समितिको निर्णयविरुद्ध बुधबार र बिहीबार भेला बोलाएका छन्। उक्त भेला विधान विपरीत भएको भन्दै संस्थापन समूहका जिल्ला सभापति उपस्थित नहुने जनाएका छन्।
देउवा निकट मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँले भने, 'विधान विपरीत बोलाइएको सभापतिको भेलाको औचित्य छैन। पार्टीलाई कमजोर गर्ने गरी भेला बोलाइएको छ।'
केन्द्रले असारको पहिलो साता औपचारिक रूपमा जिल्ला सभापतिहरूको राष्ट्रिय सम्मलेन गरेको थियो। देउवा विरोधी खेमाका जिल्ला सभापतिहरूको भेला यसअघि ककनीमा पनि बोलाइएको थियो।
ककनी र महासमिति बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिले उल्ट्याएको भन्दै इतर समूहका जिल्ला सभापतिहरू असन्तुष्ट बन्दै आएका छन्। बानियाँले भने, 'जिल्ला सभापतिको भेला जरुरी नै छैन। आन्तरिक लबिका कारण तागत देखाउन खोज्नेहरूको भेला हो।'
संस्थापन समूहका जिल्ला सभापतिहरूले भेला बोलाएर पार्टीलाई कमजोर बनाउने खेलका रूपमा बुझेका छन्। बानियाँले भने, 'सभापतिको तेजोबोध गर्न भेला डाकिएको छ। केन्द्रीय समितिले गरेको निर्णयबारे सभापति पदाधिकारीसँग कुरा गर्न सकिन्छ। तर,भेला गर्ने,विज्ञप्ति निकाल्न मिल्दैन।'
स्वतः प्रतिनिधि र आरक्षण सुविधाका बारेमा सबै जिल्ला सभापतिको मत समान रहेको संस्थापन पक्षका जिल्ला सभापतिहरूको मत छ। सभापतिलाई दबाब दिनका लागि बोलाइएको भेलाको विधि प्रति भने उनीहरूको फरक मत छ।
पर्वत जिल्ला सभापति खीम भुसालले जिल्ला सभापतिहरूको भेला कुन प्रयोजनको लागि डाकिएको जानकारी नभएको बताए।
देउवा निकट भुसालले भने, 'अहिलेसम्म भेलाको लागि डाकिएको छैन।'
संस्थापन इतर समुहले भेलामा ४ दर्जन बढी जिल्ला सभापति भेला हुने दाबी गरेको छ। गत महिना ५६ जिल्ला सभापतिले विज्ञप्ति निकालेर केन्द्रीय समितिको निर्णय नसच्चिए विशेष महाधिवेशनको माग गरेका थिए।
पार्टी केन्द्रमा देखिएको विभाजन जिल्ला सभापतिहरूमा स्पष्ट देखिएको छ। इतर समूहले जिल्ला सभापतिहरूको स्पष्ट बहुमत आफूसँग रहेको दाबी गरेको छ।
इतर समूहको दाबीअनुसार देउवा पक्षमा २१ जिल्ला सभापति छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलाको साथ पाएका जिल्ला सभापतिहरूले निरन्तर देउवालाई दबाब बढाएका छन्।
महासमितिले जिल्ला सभापतिहरूले ल्याएको प्रस्ताव अनुमोदन गरेको/नगरेको जिल्ला सभापतिहरूको व्याख्या नै फरक फरक छ।
भुसाल भन्छन्, 'महासमितिले पारित गरेको होइन। हामीले प्रस्ताव गरेका हौं।'
स्वतः महाधिवेशन प्रतिनिधिको प्रावधान हटाउनु पर्ने विचारसँग सहमत रहेको उनले बताए। उनले भने, 'सभापतिलाई कमजोर बनाउन विधान विपरीत बोलाइएको भेलाको अर्थ छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।