जीवनको अन्तिम घडीमा रहेका प्रताप (सौगात मल्ल), जो आफ्नो गाउँका धनीको सम्पत्ति लुटेर गरिबलाई बाँड्छन् । यसैले दीनदुःखी समाजमा उनको ठूलो नाम छ । उनले मर्ने बेला छोरा ‘मिन्टु’ (सौगात मल्ल, उनी फिल्ममा डबल रोलमा देखिएका छन्) लाई मलेरिया जस्तो रोगका कारण अकालमा कोही मर्नु नपरोस् भनेर एउटा अस्पताल बनाउन आग्रह गर्छन्।
तर, ‘मिन्टु’ बाबुको विरासत धान्ने सन्तान बन्दैन। ऊ आफ्ना दुई साथी ‘गुप्ता’ (कामेश्वर चौरसिया) र ‘चुच्चे’ (अनुज पाण्डे) सँग आवारागिरी गर्दै उनीहरुले चोरेको कुखुरा खानमा रमाउँछ । गाउँमा आफ्नो बाबुको कीर्ति विपरीत ऊ ‘कुखुरा चोर’ नामले कुख्यात बन्छ।
यद्यपि मिन्टुमा आफ्नो बाबुझैं चर्चित बन्ने धङधङी बाँकी नै छ । बच्चामा गौना गरिएकी ‘इन्दु’ (प्रियंका कार्की) आफ्नो पढाइ सकेर गाउँ फर्किन्छिन् । इन्दु अपहरणमा संलग्न महन्त ठाकुर (रविन्द्र झा) की छोरी हुन् । महन्त कुखुरा चोरलाई छोरी सुम्पन चाहँदैनन् र इन्दु पनि थप अध्ययनका लागि बेलायत जान चाहन्छिन्।
मिन्टु आफ्नी आमासहित इन्दुलाई लिन उनको घर जाँदा महन्तले अपमान गरेर फर्काउँछन् । यसपछि मिन्टुले आफ्नी श्रीमती जुनसुकै हालतमा घर लैजाने र डन बन्ने सपना देख्छन् । त्यो सपना पूरा हुन्छ कि हुँदैन ? त्यो नै शुक्रबारबाट सार्वजनिक भएको ‘फाटेको जुत्ता’ फिल्मको कथा हो।
सुन्दा कथा रोचक लागे पनि फिल्मको प्रस्तुति भने फितलो देखिन्छ । फिल्ममा देखिने थुप्रै गल्तीमा पटकथा नै कमजोर लाग्छ । फिल्मका विभिन्न पात्रमा पैसाको मोह देखिन्छ । यसका लागि उनीहरू जसरी एक–अर्कासँग जोडिँदै आउँछन्, पटकथा बुन्न फिल्म पूर्ण रुपमा असफल छ।
खुकुलो पटकथाका कारण १५ मिनेटपछि नै फिल्मको कथा एउटै बिन्दुमा घुम्छ । निरोज महर्जनको पटकथा फिल्मको कथा बढाउनभन्दा दर्शकलाई अनावश्यक रूपमा हँसाउने ध्याउन्नमा लागेको छ । फिल्मले दोस्रो हाफमा आफ्नो रफ्तार बढाउला भन्ने अनुमान दर्शकको हुन्छ । तर, पटकथाले यहाँ पनि निराश तुल्याउँछ । फिल्मलाई सिलसिलाबद्ध लैजानेभन्दा पनि सक्ने हतारोमा दौडाएको देखिन्छ । दर्शकको मनोरञ्जनलाई पूरै उपेक्षा गरिएको फिल्म भद्दा संवाद भन्नमा बढी केन्द्रित लाग्छ।

फिल्मको अर्को आलोचकीय पक्ष अभिनय हो । पात्रअनुसारको अभिनय दिन कलाकारहरू असफल छन् । फिल्ममा ‘मिन्टु’ बनेका सौगात मल्लले सर्वाधिक निराश पारेका छन् ।मधेसी युवाको भूमिकामा यस पटक सौगातबाट धेरै आशा गरिए पनि उनले त्यस अनुसारको प्रभाव जमाउन सकेका छैनन् । यस्तै, प्रियंका कार्की पनि फिल्ममा ‘मिसकास्ट’ छिन् । ‘रेशम फिलिली’ मा आफ्नो ‘कमिक टाइमिङ’ले दर्शकमा बेग्लै स्थान बनाएका कामेश्वरले खासै अभिनय देखाउन सकेका छैनन् । चुच्चे बनेका अनोज पाण्डे फिक्का देखिएका छन्।
‘महन्त’ को भूमिकामा अभिनय गरेका रविन्द्र झाले भने पात्र सुहाउँदो अभिनय गरेका छन् । यद्यपि एक जवान छोरीको बुवाको रूपमा देखाइएको ‘गेटअप’ एकदमै अपत्यारिलो लाग्छ।
यस्तै, फिल्ममा प्रयोग भएका गीत छुट्टै सुन्दा राम्रो लागे पनि फिल्ममा यसको प्रवेश जबर्जस्ती लाग्छ । ‘ड्रोन सट’ अत्यधिक प्रयोग गरिएको निरज कँडेलको छायांकन औसत छ । ब्याकग्राउन्ड म्युजिक पनि कामचलाउ छ । सम्पादन छरितो नहुँदा दुई घन्टाको फिल्म हेरिरहँदा पर्दामा अत्यन्त लामो र पट्यारलाग्दो महसुस हुन्छ।
फिल्मका सारा कमजोरीको अपजस टिम कप्तानका रुपमा निर्देशक निकेश खड्कामाथि आइपर्छ । ‘जिन्दगी रक्स’ बाट निर्देशकीय डेब्यू गरेका दोस्रो फिल्ममा आइपुग्दा माथि उठ्न सकेका छैनन् । कलाकारबाट अभिनय लिन उनी आफ्नो सोचभन्दा पनि कलाकारमा बढी भर परेका छन् ।
उनी कथा कसरी भन्नेमा नै दुविधाग्रस्त छन् । त्यसो त म्युजिक भिडियोबाट फिल्ममा प्रवेश गरेका अधिकतर निर्देशकको काम पर्दामा कमजोर रहँदै आएको सिलसिलालाई निकेशले पनि निरन्तरता दिएका छन् । यसैले ‘फाटेको जुत्ता’ एउटा बिर्सनलायक सिनेमा हो । फिल्मको शीर्षक समेत फिल्ममा सान्दर्भिक लाग्दैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।