काठमाडौँ– नेपाली कांग्रेसभित्रको संस्थापन पक्षले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको मुख्य उपस्थितिमा हुने यस सम्मेलनमा पार्टीका पछिल्ला विकसित घटनाक्रम र आन्तरिक विवादबारे आधिकारिक धारणा सार्वजनिक गरिनेछ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले विशेष महाधिवेशन आह्वान गरेपछि तरंगित भएको कांग्रेसको विवाद मिलाउन बिहीबार पनि नेता कोइरालाले सभापति शेरबहादुर देउवालाई आग्रह गरेका थिए ।५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइसकेकाले यो महाधिवेशन विधानसम्मत र बाध्यकारी भएको महामन्त्री पक्षको दाबी छ। तर, संस्थापन पक्षले भने नियमित महाधिवेशनको कार्यतालिका तय भइसकेको अवस्थामा यसलाई 'अवैधानिक' भन्दै आएको छ। आजको सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिहरूलाई उक्त भेलामा सहभागी नहुन पुनः कडा निर्देशन र आह्वान गरिने बताइएको छ।
महामन्त्री पक्षले भृकुटीमण्डपमा हलसमेत बुक गरिसकेको र १८ वटा व्यवस्थापन समितिहरू बनाएर तयारी तीव्र पारेको सन्दर्भमा पार्टी फुट्न सक्ने चिन्ता नेताहरूले व्यक्त गरेका छन्।
संस्थापन पक्षले विशेष महाधिवेशनलाई 'पार्टी फुटाउने खेल' को संज्ञा दिइरहँदा महामन्त्री पक्षले भने यसलाई 'नेतृत्व हस्तान्तरण र सुदृढीकरण' को अवसर भनेको छ।
यस्तै, बिहीबार नै कांग्रेसको बैठक बसेर महाधिवेशन कार्यतालिका सार्वजनिक भएकाले अन्य गतिविधि नगर्न भनिएको थियो । निर्वाचनपछि हुने नियमित महाधिवेशनमा सबै सुधारका एजेन्डा खुला छलफलमा ल्याउन सकिने निष्कर्षमा कांग्रेस पुगेको थियो । हतारोमा गरिने कुनै पनि कामले पार्टीको एकतामा आघात पुग्ने बताइएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।