प्रकृतिको प्रेमी म धर्तीमा टेकेदेखि बनेँ । अल्बर्ट आइन्सटाइनले भनेको ‘लुक डिप इन टु नेचर, एन्ड देन यु उइल अन्डरस्ट्यान्ड इभरिथिङ बेटर” मस्तिष्कमा रहन थालेदेखि यसमा झन् मेरो प्रेम उर्लेर आयो।
कस्तो होला प्रकृति ? प्रश्न खस्न नपाउँदै उत्तर मुखैमा झुन्डिरहन्छ । स्वच्छन्दताको अलौकिक रुप हो प्रकृति । जसमा सबैलाई मोहित पार्ने विशेषता हरपल रहन्छ।
मान्छेले आफूलाई पनि यसरी नै चिनाउँदै आफ्नो पहिचानमा यो नाम जोडे । कोही प्रकृतिको पर्यायवाची ठहरिए कोही विपरीतार्थक कित्तामा रहे । आखिर जे भए पनि यो क्रेजले धेरैका नाम प्रकृति रहन गयो।
एभरेस्ट कलेजको अन्तिम वर्षमा फिल्ड भिजिटका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र कृष्णसार संरक्षण क्षेत्र छनोटमा परेका थिए । हामी त्यसका लागि काठमाडौंबाट नेपालगञ्ज पुग्छौं।
कृष्णसार संरक्षण क्षेत्रको घुमफिरपछि बाँकेको खजुरा हुँदै नेपालगञ्जतर्फ फर्किदै गर्दा गाडीले आफ्नो नियन्त्रण गुमायो । सडक छेउको खेततिर पस्यो । साउने चर्को झरीले तराईका अधिकांश भू–भाग डुबानमा थिए । बाढीले थुप्रैका घरमा क्षति पुर्याेएको थियो । गाडीमा हामी सामान्य घाइते भयौं, तर सुभाष नेपाल, दिनेश राई, प्रकृति कार्की र विवेक विष्टलाई भने बढी चोट लाग्यो।
नेपालगञ्ज मेडिकल कलेजमा सामान्य उपचारपछि करकान्दोको होटल सिद्धार्थ भ्यूमा बास बस्यौं । गु्रपको नेतृत्व जीव विज्ञान पढाउने आकाश वाग्ले सरले गर्नुभएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमणलाई हामीले रद्द गर्योन । सडक दुर्घटनाको खबर सबैतिर पुग्यो । हामी सबैका मोबाइल व्यस्त हुन थाले । भोलिपल्टै काठमाडौं फर्कने भयौं । २० जनाको समूहमा गएका हामी त्यो रात ५ वटा कोठामा बाँडिएर सुत्यौं ।
अरु साथी निदाइसके पनि मलाई निद्रै परेन । त्यही बीचमा मेरो म्यासेजको घन्टी बज्यो । म्यासेज हेरेँ, प्रकृतिको थियो । जो हाम्रै गु्रपकी थिई । रुप र व्यवहार दुवैको फ्युजन उसमा थियो । नामको प्रतिनिधित्वले सबैतिरबाट मेल खान्थ्यो । उसले लेखेकी थिई–
‘पूर्वी पहाडकी म यो पश्चिम तराईमा, त्यही माथि यो मौसम । कस्तो ठाउँ ! जिन्दगीको विरक्त क्षण।’
न्यास्रो भावको म्यासेजले मेरो मन भाइबे्रट भयो । मैले उसलाई म्यासेजको रिप्लाई दिन आवश्यक ठानिनँ । सीधै कल गरेँ । उसले निद्रा नपरेको कुरा गरी । मैले पनि ऐजन ऐजन कुरा गरेँ।
होटलमा आइपुगेपछि उसले मलाई ‘कालो नेपालगञ्ज’ लेख्न अह्राएकी थिई, फेसबुकमा । उसको स्टाटस मैले अपडेट गरेँ । उसको चम्किलो अनुहार हेर्दाहैर्दै श्यामश्वेत हुँदै थियो । ओठमा हाँसोका कुनै रेखा थिएनन्।
उसको त्यो पीडामा मल्हम लगाउन म मनैदेखि तयार थिए । कलेजकी ऊ मेरी असल साथी थिई । यो फिल्डमा यात्रारत रहँदा उसले र मैले सम्बन्धमा नयाँ आयाम खोजेका थियौं सायद । चाहनाहरुको मेल भयो भने असम्भव कुरा टाढा भाग्छन्।
सल्लाह गरेर हामी बाहिर निस्कियौं । पश्चिम भागको भर्या ङमा दुवै जना आड लगाएर गफिँदा रातको १२ः३५ घडीको संकेत थियो । स्विमिङ पुलको नीलो पानी नियालेर बस्दा हाम्रो मन हल्का हुँदै थियो । दाहिने हातका दुई औंलालाई यही दुर्घटनामा गुमाउँदा ऊ जिन्दगीको परिभाषामा खरो उत्रिएकी थिई।
मृत्युको अनुभूति नजिकबाट गर्नेहरु जिन्दगीको विश्लेषण गर्न माहिर हुन्छन् । उनीहरुको बुझाइ, भोगाइले विशेष अर्थ राख्ने कुरामा सहमत नहुने मन, मन नै हुन सक्दैन।
आत्मविश्वासी केटी एक्कासि रुन थाली । म असमञ्जसमा परेँ । उसको आँसु अनुहारभरि टिलपिलाउन थाले । ती अझै एकसुरमा तलसम्म बगे।
सम्झाउने कोसिस बेकार भयो । उसकी साथी आकृतिलाई बाहिरसम्म बोलाएँ । उसले सम्झाउँदै रुमसम्म पुर्याई।
म आफ्नो कोठामा फर्केर बेडमा पल्टिएँ । फेसबुक खोलेँ । प्रकृति पनि अनलाइन थिई
‘प्रेममा पारेर एक्लै छोडेर गयौ भने?’
प्रश्न भयंकर थियो।
जवाफ दिने पालो मेरो थियो । के लेखूँ भयो । चिठीपत्रको जमाना नभएकाले विलम्ब गरिनँ।
सीधै भनेँ– ‘हुनै सक्दैन । यसरी ठगिन धर्तीमा यो जोडीको भेट भएकै हैन ।’
उसले खुसीको भावमा लाइक थिची । मुस्कानका थानहरु लहरै सेन्ड गरी ।
अन्त्यमा आयो– ‘गुड नाइट ।’
भोलि नेपालगञ्जदेखि काठमाडौंको यात्रामा हामी जोडियौं । म लास्ट सिटमा थिएँ भने ऊ सबैभन्दा अगाडि थिई । ड्राइभर दाइले देउडा गीतको स्वरमा गाडी हुइक्याइरहे । घोराहीमा खाना खान गाडीबाट ओर्लियौं । म खाना नखाने भनेर गाडीमै बसिरहेको थिएँ । तर, उसको करले खाना खान तयार भएँ ।
खानामा चिल्लोको मात्रा बढी थियो । गाडी गुडेको केही क्षणमै मलाई भोमिट हुन थाल्यो । मलाई अगाडि बस्न सबैले आग्रह गरे । प्रकृतिले मन खोलेर स्वागत गरी।
यसरी यो लामो यात्रामा हामी सँगै बसेर गफिँदै अगाडि बढ्यौं । हिजो रातिको बाँकी कुरा टुङ्ग्यायौं।
यात्राका पलहरु निकै सुखद बने । वर्षे भेलले त्रिशूली बत्तिएर आफ्नै रफ्तारमा बगिरहेको थियो । हाम्रो माया पनि त्यसरी नै छल्किरहेको थियो । पट्यारलाग्दो बन्ने यो सडकखण्ड मेरा लागि निकै छोटो लाग्यो । वर्षाको बेला पहिरोले धेरैजसो अवरुद्ध हुने यो खण्डमा कुनै अवरोध थिएन । मन भने यात्रा अझै लम्ब्याउन लालायित थियो ।
थानकोट आइपुग्दा बत्तीले चारैतिर उज्यालो थियो काठमाडौं सहर । हामी केही साथी कलंकीमा ओर्लियौं ।
सानेपा चोकमा लिन आउन दिदीलाई फोन गरेकी ऊ माइक्रोको अघिल्लो सिटमा बसीे । बिदाइ भावमा अगाँलोमा बाँधिँदै म त्यहाँबाट बाफलस्थित घरतिर लाग्छु । उसको मुस्कान ओठबाट झल्किन्थ्यो । शरीरका प्रत्येक शिरामा खुसीसँग लटपटिँदै रक्तकणहरु दौडिरहेका थिए । टहटह चम्किरहेको जूनले मस्तिष्कमा ऊर्जा भरे । जिन्दगीका बाङ्गा रेखाहरु सरल लागे । यिनले नै जीवनमा बढी प्रेरणा दिए।
नजिकिएको परीक्षाको अन्तिम तयारीमा हामी जुट्यौं । उसले बरोबर परीक्षाकै तनावमा आफ्नो तौल अनावश्यक घटाएकी थिई । म उसलाई सहानुभूतिका साथै आत्मविश्वासका अनेक उदाहरण दिन्थेँ । म चाहन्थेँ, औंला गुमेको कारण उसको परीक्षामा कुनै असर नपरोस् । गुगलमा धेरै समय उसैका लागि साहसीको कथा खोज्न बिताएँ । उसको र मेरो कम्बाइन स्टडीको बढी समय यसैमा केन्द्रित हुन्थ्यो । उसले मलाई परीक्षामा यी सबै स्टोरी लेखेर एन्सर सिट भर्न व्यङ्ग्य गर्थी।
सेन्टर चावहिलको सेन्ट लरेन्स कलेजमा परेको थियो । ऊ सानेपाबाट गाडीमा कालिमाटी आउँथी, म बाफलबाट । गाडीमा सिट पाएसम्म सँगै सिटमा बस्थ्यौं । डेटिङ हब हाम्रो ‘सफा टेम्पो’ बनेको थियो । म प्रेमका कुरा गर्थेँ, ऊ प्रेमलाई पढाइसँग जोडेर विषयान्तर गर्न खोज्थी।
हामी दुवैको परीक्षा राम्रै भयो । म भन्दा पढाइमा अब्बल ऊ सबै प्रश्न एटेम्ट गर्न नभ्याएको कुरा गर्थी । परीक्षा सिध्याएर ऊ आइल्टस गर्दै थिई, म भने एउटा प्रोजेक्टमा जागिर खान थालेँ।
दिनहरु राम्रै बितिरहेका थिए । घरमा उसको ममीको खुट्टा फ्याक्चर भएको खबर आयो । घाँस काट्दा रुखबाट लड्नुभएछ । ताप्लेजुङको थेचम्बुमा उसको घर । उसलाई घर छिटो पुग्नुपर्ने भएकाले भद्रपुरसम्म प्लेनमा गई । उसको रुट काठमाडौं–भद्रपुर–विर्तामोड–इलाम–पाँचथर(फिदिम)–ताप्लेजुङ थियो।
जाने बेला ऊ सँग मेरो भेट हुन सकेन । फोनबाटै बिदाइ गरेँ । म्यासेजमा ‘ह्याभ अ सेभ जर्नी’ लेखेँ । उसले जवाफमा लभका स्टिकरले म्यासेज बक्स भरी।
भद्रपुर पुगेर उसले सकुशल पुगेको जानकारी गराई । ताप्लेजुङको बसमा चढेपछि फोन गर्ने भन्दै फोन राखी।
रात्रिबसमा हुँदै गरेको उसको यात्राबारे म चिन्तित थिएँ । राति फोन गरेँ । ४५ मिनेट कुरा भयो । मीठो गफको मोहनीमा कतिबेला निदाएछु, पत्तै भएन।
रातभरि विचित्र सपनाहरुले गिजोले । यसअघि यतिविघ्न सपना मैले कहिल्यै देखेको थिइनँ ।
बिहान ४ बजे उठेर मोबाइल हेरेँ । कल र म्यासेजको ठूलो भारी मोबाइल डिस्प्लेमा सजिलै देखिन्थ्यो । उसकी दिदीको मोबाइलबाट आएका म्यासेज र कलले म तर्सिएँ।
प्रकृतिलाई सम्पर्क गर्न खोजेँ, तर मोबाइलमा फोन लागेन । दिदीलाई फोन गरेँ । उहाँ हल्लाखल्लाको बीचमा हुनुहुन्थ्यो । एकाएक रुन थाल्नुभयो । म केही बोल्न सकिनँ । फोन राखेँ।
केही अनलाइन पोर्टलले इलाममा भएको बस दुर्घटनाको समाचार प्राथमिकतासाथ लेखेका थिए । घाइते र मृतकहरुको सूची सिलसिलेवर उल्लेख थियो । घाइतेको सूचीमा उसको नाम देखिनँ ।
शरीर चिसो भयो । टाउकोमा हजारौं टनले थिचे जस्तो भयो । उसले भन्ने गरेको जीवनको परिभाषाले मलाई भाउन्न बनायो । उसले सोध्ने – ‘प्रेममा पारेर एक्लै छोडेर गयौ भने’ भन्ने प्रश्नले दिमाग रन्थनियो ।
उसलाई मैले जवाफ सजिलै दिएको थिएँ । तर, उसले त्यसबेला कुनै प्रतिप्रश्न गरिन। उसले प्रश्न गरेको भए मेरो जवाफ के हुन्थ्यो ?
मन निचोरिँदै थियो, संसार भासिँदै थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।