घरमुन्तिरको आरुको रुखमा एउटा हाँगादेखि अर्को हाँगासम्म जाल बुन्दै गरेको माकुरोलाई हेर्दै टोलाइरहेको केटोलाई उसको बूढो बाले खोक्दै बोलायो, 'आज पनि ल्याइनस् प्रेमे?'
नल्याएको जनाउन केटोले आफ्नो टाउको पेन्डुलम घडीको सुई जस्तै यताउता हल्लायो।
छोराको टाउको हल्लाइसँगै बुढाको बाँच्ने आशा पनि फेरी एकचोटि हल्लियो । दिनमा एक पटक रगत बान्ता हुने बेथाले एक महिनादेखि बूढो थला परेको थियो । बुढोको पहुँचमा भएका कुनै पनि जडिबुटी र धामीझाँक्रीले उसको रोग निको पार्न नसकेपछि बा बचाउने आशाको मसिनो त्यान्द्रोले डोर्याउँदै एकदिन उसको छोरो प्रेमले बूढोलाई डोकोमा बोकाएर साउँखोला पारिको मादी गाउँमा लगेको थियो।
त्यो गाउँमा हेर्दै रहस्यमयी लाग्ने रुपासे नामको वैद्य बस्थ्यो । रुपासे जस्तै बिरामीलाई पनि निको पार्न सक्ने वैद्यको रुपमा सात गाउँसम्म नाम चलेको वैद्य थियो । केटोले उसको यही चर्चा सुनेकोले नै आफ्नो बूढो बाउलाई बचाउने आशाले डोकोमा ५ घन्टा बोकेर यहाँसम्म ल्याएको थियो।
दुई घन्टाजति पालो कुरेपछि बल्ल बूढोको जाँच गर्ने पालो आयो । त्यतिबेलै केटोले डोकोको एउटा छेउबाट एउटा कुटुरो निकै जतनसाथ बोकेर आयो र बालाई बचाइदिनुपर्यो हजुर भन्दै हात कपाउँदै त्यो कुटुरो रुपासे वैद्यको अगाडि राखिदियो । त्यो कुटुरोमा चार माना घ्यु, एक माना मह र एक पाथी मार्सी धानको चामल थियो । बैद्यलाई दिने पैसा आफूसँग नभएको र आफ्नो बालाई निको पार्दिएमा हरेक वर्ष दुई माना मह ल्याइदिने बाचा गरेपछि मात्र रुपासेले बूढोको जाँच गर्न सुरु गर्यो।
धेरै बेरको चेकजाँचपछि रुपासेले केटोलाई नजिकै बोलायो र भन्यो, 'तिम्रो बाको रोग निको हुन्छा । तर, अबको एक महिनाभित्रमा सुगा चरोको कलेजोमा तीन दाना टिम्मुर मिसाई माली गाईको दूधमा उमालेर खुवाउन सके मात्र तिम्रो बा बाँच्छन् । यिनलाई बचाउने औषधि यही मात्र हो । अब तिमी बालाई लिएर जाउ । टिम्मुर र माली गाईको दूध चाहिए मेरोमा आउनू । सुगा मार्न छहरा खोलाको बाँसघारीमा जानू।'
रोग निको हुने कुराले धेरै दिनदेखि मुहार ढाकेर बसेको पिरको बादल हटेर उनीहरुको मुहारमा खुशीको घाम उदाएको थियो । भोलिपल्ट बिहानै हातमा गुलेली लिएर सुगा मार्नको लागी केटो छहरा खोलाको बाँसघारीतिर हिँड्यो । दिनैभरि पर्खँदा पनी ढुकुर, कोकले, जुरेली, कोइली लगायत अरु धेरैथरी चराहरु आए र गए तर सुगा भने आएनन् । साँझ केटो एकदमै निराश भएर घर फर्कियो । छोराको निराश अनुहार देखेर बूढोले केटोलाई दबिएको स्वरमा भन्यो, 'पीर नगर् प्रेमे । मलाई बाँच्न लेखेको रैछ र तँलाई बाउ बचाउन लेखेको रैछ भने सुगा भेटिन्छ । सुगा खोज्न अझै उनान्तीस दिन बाँकी छ । चिन्ता नगर्।'
टुहुरी भएँ भन्ने सुगाको कुराले यो पोथी सुगा रैछ भन्ने उसले सोचिरहेको थियो । अघिसम्म घाँटी थिचेर मार्ने सोचेको सुगालाई अहिले भने ऊ माया गर्न थालिसकेको थियो।
बूढोको कुराले केटोलाई केही आत्मबल त मिल्यो, तर सुगा मिलेन । बिहानै गुलेली लिएर जाने दिनभर छहरा खोलाको बाँसघारीमा सुगा कुरेर बस्ने अनि साँझ निराश बनेर फर्कने क्रम लगातार एक हप्तासम्म चल्यो । सुगाको खोजीको आठौं दिन केटोले हातमा गुलेली र मुरलीसँगै देखिए । दिनभर सुगालाई पर्खँदै बस्दा लाग्ने अल्छी भगाउन मुरली बजाउने सोचेर केटोले मुरली पनि साथैमा बोकेर गएको थियो । मुरली बजाउँदै गर्दा केटोले उदास हुँदै सोच्थ्यो... मुरली बजाएर बाको मृत्यु पनि भगाउन पाए पो ...।


'तिम्रो माया साँइली यो मनमा कति छ, हेर्छौ भने साइँली समुद्र जति छ... ...' भन्ने आफ्ना बाहरुले गाउने पुरानो गीतको धुन उसले मुरलीमा भरेर सुनाउँदा छहरा खोलाको बाँसघारी साँच्चिकै संगीतमय बनेको थियो । अघिसम्म चिरबिर गरेका चराहरु पनि शान्त बसेर उसकै मुरलीको धुनमा लठ्ठिएका थिए । यो गीतको धुन उसले तीन चोटिसम्म दोहोराएर बजाएपछि बाँसघारीतिर हेर्यो, तर सुगा देखेन । केटोको आशाको घाम डाँडामाथिको घाम जस्तै भएको थियो । उसको आशाको घाम डुब्न नपाउँदै बाँसघारीमा एउटा नारी आवाज 'तिम्रो माया साँइला यो मनमा कति छ, हेर्छौ भने साँइला समुन्द्र जति छ...' भन्दै गुन्जिन थाल्यो । उसले आफ्ना एक जोर आँखा बाँसघारी तिर सोझ्यायो… त्यहाँ उसले बाँसको टुप्पोमा बसेर बाको औषधिले गीत गाइरहेको देख्यो । केटोले हेरेको थाहा पाएपछि त्यो औषधि अर्थात् सुगाले गाउन छोड्यो।
सुगा देखेपछि सबैभन्दा पहिले उसले बालाई सम्झ्यो । अनि क्रमैसँग सम्झन थाल्यो... आफू घोडा बनेर छोराको घोडा चढ्ने रहर पूरा गराउने बाको पिठ्यूँ, आफूले हेर्ने उचाइभन्दा माथिबाट सन्तानलाई संसार हेराउन बसाउने बाको काँध र मलाई यसै मर्न दिन्न यसले भन्ने भरोसाले छोरोलाई हेर्ने बाका रसिला आँखा । बा बचाउन सक्ने खुसीले उसको मुटुमा मूल फुट्यो र आँखाबाट रसायो।
आठौं दिनसम्मको प्रतीक्षापछि आएको सुगालाई मार्न उसले आफ्नो गुलेलीमा मट्यांग्रा राखेर गुलेली तन्काउनै लागेको बेला किन किन उसका हात त्यसै लुला भए । आफ्ना हातसँग उसलाई झनक्क रिस उठ्यो । हातलाई झट्कार्दै उसले फेरि सुगालाई निसाना लगाएर गुलेली तन्काउन मात्र के लागेको थियो उसका हात अचानक फतक्क गले र गुलेली पनि हातबाट भुँइमा खस्यो । दोस्रो चोटि पनि सुगा मार्न खोज्दा हात लुलो भएपछि केटोले मनमनै सोच्यो... 'यो सुगालाई नमार् भन्ने सन्देश दिनकै लागि सायद दैवले मेरा हात लुला बनाए । गीतको धुन सुनेकै भरमा गीत गाउन सक्ने सुगा पक्कै पनि विद्वान् हुनुपर्छ । बाको लागि अर्को कुनै सुगा मार्छु, यो गीत गाउने सुगाको गीत सुनेर मज्जा लिन्छु।'
केटोले मुरली बजाउने अनि सुगाले गित गाउने क्रम त्यो दिनभरी चलिरह्यो । साँझ केटो घर फर्कियो अनि सुगा कतै भुर्र उडेर गयो । बूढोले 'आज पनि सुगा देखेनस् ?' भनी सोध्दा केटोले नदेखेको भनेर झुट बोल्यो । सानोमा कुनै गल्ती गरेपछि गल्ती लुकाउन बाको अगाडि झुट बोल्दा ऊ बाको पिटाइबाट जोगिन्थ्यो तर अहिले त उसको बा उसलाई पिट्न नसक्ने गरी थला परिसकेको थियो । थला परेको बाको अघि झुटो बोल्दा उसलाई कसैले मुटुमा थप्पड हाने झैं पीडा भएको थियो । सुगा बाको लागी सञ्जीवनी बुटी जस्तै भएको तर आफूले सञ्जीवनी बुटी भेटेर पनि नल्याएको भन्ने कुरा सोचेर केटोलाई अति नै ग्लानि भयो । भोलि त्यो सुगा भेट भए जसरी नि मारेर ल्याउने अठोट उसले गर्यो।
अचेल बूढोलाई लाग्न थालेको छ- संसारमा सबैभन्दा छोटो आयु आशाको हुन्छ । मान्छे मरेर मूर्दा हुनभन्दा लाखौं गुणा छिटो आशा मरेर निराश बन्दोरहेछ।
अर्को दिन बिहानै मुख समेत नधोई गुलेली र मुरली बोकेर केटो बाँसघारीतिर लाग्यो । बाँसघारीमा पुग्न नपाउँदै उसले कसैले 'कति ढिलो आएको ?' भनेर बोलेको आवाज सुन्यो । त्यो आवाज त्यही सुगाको थियो । सुगाले गीत गाउने मात्र हैन कुरा पनि गर्न जानेको देखेर केटो आश्चर्यमा पर्यो । केटोले सुगालाई कुरा गर्न तल आइज भनेर बोलाउने र उसको घाँटी थिचेर मार्ने योजना मनमनै बनाउँदै भन्यो 'ए सुगा.. तिमी त गाउन पनि जान्ने, बोल्न पनि जान्ने । मलाई तिमी एकदम मन पर्योभ । आउ तलसँगै बसेर कुरा गरौं।'
सुगा भुर्र उडेर तल आयो, तर केटोको नजिक भने आएन । केटोले नजिक आउन भन्दा उसले मान्छेको विश्वास नलाग्ने कुरा बतायो । केटोले किन विश्वास लाग्दैन तिमीलाई मान्छेको भनेर सोध्दा सुगा त रुन पो थाल्यो । सुगा रुन थालेपछि केटो पनि केहि भावुक बन्दै सोध्यो 'किन तिमीलाई मान्छेको विश्वास लाग्दैन ? नरोई बताऊ अब त म तिम्रो साथी हो । साथीको त विश्वास गरेर केही बताऊ।'
पखेटामा आँसु पुछ्दै सुगाले आफ्नो कहानी भन्न थाल्यो- 'दुई वर्षअघि एउटा सिकारीको उसको जालमा पारेर बा आमा र मलाई तल बजारको रत्ने भन्ने साउलाई बेच्यो । रत्नेले हामी तीनै जनालाई दुई दिनसम्म भोकभोकै पिंजडामा थुनेर राख्यो । दुई दिनपछि भने खाना दिएर थुनेर राखी हामीलाई गीत गाउने र बोल्ने तालिम दिन थाल्यो । म एक महिनामै मान्छे जस्तै बोल्न जान्ने बनें अनि दुई महिनामा त गीत गाउन पनि जान्ने बनेँ । तर बा आमाले मान्छे जस्तै बोल्न र गाउन जति सिकाए पनि नसिकेपछि ६ महिनापछि उहाँहरुलाई पिट्दै पिंजडा बाहिर निकाल्यो । उसको पिटाइ सहन नसकी बाले त्यहि प्राण त्याग्नुभयो अनि आमा भने रत्नेको हात बाट फुत्किएर कतै टाढा उड्नुभयो । त्यो दिनदेखि म पिंजडामा एक्लै मात्र भइनँ, टुहुरी पनि भएँ । ६ महिनामा मान्छे जस्तै बोल्न र गाउन नजानेको निहुँमा मलाई टुहुरी बनाउने पापी रत्नेले भने आफु त्यति बूढो हुन्जेल मान्छे भएर पनि मान्छे जस्तो हुन सिकेको थिएन । मलाई अचेल सबै मान्छे रत्ने जस्तै लाग्छन् । त्यसैले कोही मान्छेको पनि विश्वास लाग्दैन।'
सुगा फेरि रुन थाली । सुगा रोएको देखेर केटो एकदमै दु:खी भएको थियो । टुहुरी भएँ भन्ने सुगाको कुराले यो पोथी सुगा रैछ भन्ने उसले सोचिरहेको थियो । अघिसम्म घाँटी थिचेर मार्ने सोचेको सुगालाई अहिले भने ऊ माया गर्न थालिसकेको थियो । सायद मायाको भाषा चरोले पनि बुझ्ने रहेछ क्यारे । अघिसम्म टाढा बसेकी सुगा अहिले उसको आडैमा आएर बसेकी थिई । आडैमा बसेकी सुगालाई हातमा लिएर आफूतिर फर्काउँदै केटोले सोध्यो, 'अनि तिमी पिंजडाबाट कसरी भाग्यौ त?'
सुगाले रत्ने साउको सानो छोरोलाई रत्ने घर नभएको बेलामा यदि उसले पिंजडा खोलिदियो भने आफूले उसलाई मिठाईको रुख भएको ठाउँ देखाइदिने भनेर फकाई त्यहाँबाट भागेको कुरा सुनाई । यो कुरा सुनाउँदा ऊ एकदमै राम्री देखिएकी थिई । दिनभरी अनेक थरि कुरा गरेर भोलि बिहानै भेट हुने सहमतिमा साँझ केटो घर फर्कियो । सुगा पनि भुर्र उडेर कतै गई । सधैं निराश बनेर फर्कने छोरो आज खुशी भएर फर्किएको देखेर बुढोको मनमा वसन्तका पालुवाजस्तै आशाका पालुवा पलाए । तर छोरोको सुगा नभेटेको जवाफसँगै ती सबै पालुवा परिपक्व पात पनि बन्न नपाई ओइलाएर झरे।
दिनदिनैको भेटघाट र कुराकानीले सुगा र केटो एकदमै मिल्ने साथी बनिसकेका थिए । यसरी उनीहरु भेटघाट गर्न थालेको आज २० दिन पुगेको थियो । उता बूढोलाई सुगाको कलेजोको औषधि खुवाएर बचाउन सकिने जम्मा दुई वटा दिन मात्र बाँकी थिए । केटोको बूढो बाप्रतिको बेवास्ता हेर्दा ऊ सक्दो छिटो आफ्नो बाउको मृत्युको लागि वातावरण मिलाउन तल्लीन छ जस्तै देखिन्थ्यो । बूढोले पनि अब छोरोले सुगा मारेर ल्याएर औषधि बनाई खुवाउला अनि म बाँचूँला भन्ने आशा गर्न छोडिसकेको थियो । अचेल बूढोलाई लाग्न थालेको छ- संसारमा सबैभन्दा छोटो आयु आशाको हुन्छ । मान्छे मरेर मूर्दा हुनभन्दा लाखौं गुणा छिटो आशा मरेर निराश बन्दोरहेछ।
भूत देखेर डरले फर्कनै लागेकी सुगालाई भूतले रुन्चे स्वरमा बोलायो र भन्यो, 'नडराऊ सुगा नडराऊ..मेरो ढाडमा बिझेको काँडा निकाल्देऊ सुगा, म तिमीलाई केही गर्दैन । काँडा निकाल्दियौ भने म तिम्रो सबै इच्छा पूरा गर्दिन्छु।
यता केटोले भने सुगालाई अक्षरहरु लेख्न र पढ्न पनि सिकाइसकेको थियो । सुगाले सालको पातमा आफ्नो चुच्चो घुमाई घुमाई लेख्न सिकेकी थिई । केटोले लेख्न भनेको शब्द सालको पातमा लेखिसकेपछि सुगा आँखा झिमझिम पार्दै केटोलाई हेर्थी । सुगाको आँखा झिम्काइको जवाफमा केटो उसको चुच्चोमा चुप्पा गरिदिन्थ्यो । सुगा लाज मान्दै आफ्नो खुट्टाको नंग्राले भुइँ कोतरेर भुँइमै हेरेर बस्थी।
अचेल सुगाले केटोलाई 'पेल्मु' अनि केटोले सुगालाई 'सुगी' भनेर बोलाउन थालेका थिए।
आज सुगा र केटोको भेट भएको एक्काइसौं दिन हो । आज सुगा केटोसँग प्रेमका कुरा गर्ने मुडमा थिई । आज सुगाको यस्तो मुड हुनुमा हिजो साँझ केटो घरमा गएपछि छहराखोलाको बाँसघारी तलको रवा (खोलाको पानि जम्मा भएर गहिरो गरि बनेको तलाउ) मा बस्ने भूतसँग भएको उसको अप्रत्यासित भेटको ठूलो भूमिका थियो ।
हिजो साँझ केटो घर गएपछि सुगा पानी खानको लागी त्यही रवातिर जाँदै थिई । जाँदाजाँदै उसले छहराखोलाको छेउमा रहेको उत्तिसको रुखमुनि एउटा भूत ऐया ऐया भन्दै कराउँदै गरेकी देखी । भूत देखेर डरले फर्कनै लागेकी सुगालाई भूतले रुन्चे स्वरमा बोलायो र भन्यो, 'नडराऊ सुगा नडराऊ..मेरो ढाडमा बिझेको काँडा निकाल्देऊ सुगा, म तिमीलाई केही गर्दैन । काँडा निकाल्दियौ भने म तिम्रो सबै इच्छा पूरा गर्दिन्छु । म अरु जस्तो भूत हैन, भगवान् शिवले वरदान दिएको भूत हुँ । विश्वास गरेर सहयोग गर्छौ भने पनि गर गर्दैनौ भने नि नगर।'
भूतले आफ्नो हातले ढाडको काँडा निकाल्न खोज्दा सकिराखेको थिएन । यो देखेर सुगालाई दया लाग्यो अनि भुर्र उडेर गएर भूतको ढाडमा बिझेको काँडालाई आफ्नो चुच्चोले निकै मिहिनेत साथ निकालेर फालिदिई । काँडा निस्किएपछि भूत ऐया ऐया गर्न छोड्यो र सुगालाई भन्यो, 'मेरो ढाडको काँडा निकालिदिएर तिमीले मलाई ठूलो गुन लगायौ । अब गुन लगाउने पालो मेरो हो । ल भन, तिम्रो इच्छाहरु के के छन्, म सबै पूरा गर्दिन्छु।'
सुगाले आफ्नो मरेको बालाई जिउँदो बनाइदिन भनी । भूतले मरेको चिजलाई ज्यूँदो बनाउन भगवानले मात्र सक्ने भएकाले अरु नै माग भन्यो । सुगाले आफ्नी आमासँग भेट गराइदेऊ भनी । भूतले एकछिन निदाए जस्तो गरेर दु:खी हुँदै उसकी आमा पनि एक्काइस दिनअघि मरिसकेकीले अब भेट गराउन नसक्ने बतायो।
सुगाले रुँदै भनी, 'तिमी मेरो केही पनि इच्छा पूरा गर्न सक्ने रहेनछौ, त्यसै झुटो मात्र बोल्यौ।'
सुगाले यसो भनेपछि भूतले आफू अघि पीडाबाट मुक्त हुन तिम्रो सबै इच्छा पूरा गर्दिन्छु भन्नु आफ्नो गल्ती भए पनि तिम्रो अन्य धेरै इच्छा पूरा गर्न सक्ने क्षमता भने आफूमा भएको भनी सुगालाई फकायो।
सुगाले झर्कंदै भनी, 'ल त्यसो भए तिमी मलाई मान्छे र मान्छेलाई सुगा बनाउन सक्छौ?'
भूतले मुस्कुराउँदै भन्यो, 'सक्छु । त्यो त एक मिनेटमा सक्छु।'
भूतको यो कुराले सुगा वर्षौपछि धेरै खुसी बनेकी थिई । उसले आफ्नो बालाई पिटेर मार्ने रत्ने साउलाई भाले सुगा बनाएर पिंजडामा थुनेर राख्ने कुरा भूतलाई बताई । अनि भूतले अनि तिमि चैं रत्ने साउ बन्ने भनि सोध्दा उसले आफ्नो टाउको यताउति हल्लाएर नबन्ने कुरा बताई । बरु उसले त पेल्मु र आफ्नो प्रेम कहानी भूतलाई सुनाई । आफू सुगी नाम गरेकी तरुनी केटिमान्छे बन्ने अनि आफ्नो मायालु पेल्मुसँग घरजम गरेर जिन्दगी बिताउने आफ्नो योजना सुनाई । उसले कुराले भुत मुस्कुरायो र भन्यो, 'ओहो, कस्तो गज्जब!'
भूत र सुगा भोलिपल्ट दिउँसो ठीक १२ बजे आजकै ठाउँमा भेट्ने र भोलि नै सुगीका इच्छा पूरा गर्ने सहमति गरी छुट्टिए।
भूतलाई देखेर डराइरहेको केटोलाई उसले 'म छु नि, नडराऊ' भनी भरोसा दिलाई । केटोले यो बेला मनमनै सोच्दै थियो, 'माया भन्ने चिज पनि अचम्मको रहेछ, यति सानी सुगीले यति ठूलो मान्छे मलाई भूतले केही गरिहालेछ भने पनि पक्कै बचाउँछे भन्ने विश्वासले म भूत भेट्न जाँदै छु । आखिर विश्वास नै त रहेछ माया।'
हिजो-अस्ति आउने समयमै बिहान केटो बाँसघारीमा आइपुग्यो । तर, उसलाई आज केटो निकै ढिलो आएजस्तो लागेको थियो । कारण ऊ आज रातभर नसुती उसलाई पर्खिएर बसिराखेकी थिई । ऊ भुर्र उडेर केटोको काँधमा बसी अनि केटोको ओठमा आफ्नो चुच्चोले मुसारी । सुगीले आज पहिलो चोटि आफ्नो पेल्मुलाई चुप्पा गरी।
अरु दिनको भन्दा फरक हाउभाउ गरेको देखेर केटोले सोध्यो, 'के भयो मेरी सुगीलाई आज ?'
सुगी बोलिन, रोई मात्र । केटोले धेरैबेर फकाएर सोधेपछि उसले हिजो भूतसँग भएका सबै कुरा बताई । सुगीको कुरा सुनेपछि केटो एकदमै खुसी भयो र जिन्दगीमै पहिलो चोटि खुसीको आँसु रोयो।
धेरैबेर केटो र सुगी कोही पनि बोलेनन् । लामो मौनतापछि केटोले भन्यो, 'सुगी तिमी मान्छे नबन, बरु म सुगा बन्छु । मलाई मान्छेको जिन्दगीदेखि वैराग लागिसकेको छ । मलाई जालझेलको जिन्दगीदेखि दिक्क लागेको छ । मलाई मान्छेका बेइमानीहरु देख्दादेख्दा मान्छेसँग नै घृणा लाग्न थालेको छ । तिमी मान्छेलाई स्वतन्त्र देख्छ्यौ होला, तर खासमा मान्छे एउटा ठूलो अदृश्य पिंजडामा थुनिएर बाँचेको छ । म पिंजडाबाट बाहिर निस्कन चाहन्छु । म तिमी जस्तै आकाशमा स्वतन्त्र उड्न चाहन्छु । सुगी म तिमीलाई स्वार्थरहित प्रेम गर्न चाहन्छु । मान्छे भएर नि:स्वार्थ प्रेम गर्न असम्भव छ सुगी... त्यसैले म सुगा बन्न चाहन्छु।'
केटोको कुराले सुगी स्तब्ध बनी । उसले रत्नेलाई सुगा बनाउन चाहेको कुरा फेरि दोहोर्याई । केटोले उसलाई सम्झाउँदै भन्यो, 'सुगी .. बदला लिने त मन पापी भएका हामी मान्छेहरुले हो, सफा मन भएका पंक्षीहरुले त क्षमा दिनुपर्छ।'
केटोको सम्झाउन-बुझाउन सक्ने सीपले सुगी उसको मायामा फेरि भुतुक्कै बनी । ऊ केटोलाई सुगा बनाउन र रत्नेलाई माफी दिन राजी भई।
यतिबेला बिहानको आठ बजेको थियो । केटोले आफु सुगा बन्नु पहिले घरमा एकचोटि बालाई भेटेर बाह्र बजे भित्रै यहाँ आउने कुरा सुगीलाई बतायो र त्यहाँ बाट घरतिर हिँड्यो । सुगीले केटोको घरमा उसको बा पनि रहेछ भन्ने कुरा बल्ल आज थाहा पाई।
१२ नबज्दै केटो बाँसघारीमा आयो । बाह्र बज्न केही मिनेट मात्र बाँकी भएकोले सुगीले आफ्नो पेल्मुलई सुगा बनाउन ठीक १२ बजे भूतकोमा लिएर गई । भूतलाई देखेर डराइरहेको केटोलाई उसले 'म छु नि, नडराऊ' भनी भरोसा दिलाई । केटोले यो बेला मनमनै सोच्दै थियो, 'माया भन्ने चिज पनि अचम्मको रहेछ, यति सानी सुगीले यति ठूलो मान्छे मलाई भूतले केही गरिहालेछ भने पनि पक्कै बचाउँछे भन्ने विश्वासले म भूत भेट्न जाँदै छु । आखिर विश्वास नै त रहेछ माया । आखिर माया नै त रहेछ विश्वास।'
हिजो वाचा गरे जस्तै भूतले केटोलाई एक मिनेटमै भाले सुगा बनायो । केटो सुगा बनेको क्षण केटी जति धेरै खुसी थिई, त्यसको दोब्बर दु:खी भर्खर बनेको पेल्मु सुगा थियो । पेल्मु सुगाको दु:खी अनुहारदेखि भूतले रत्ने साउ यही रहेछ भन्ने अनुमान गर्न नपाउँदै सुगी बोली, 'धेरै धन्यवाद भूतजी, म र मेरो यो प्यारो पेल्मुले हजुरको यो गुन कहिल्यै बिर्सनेछैनौं । रत्नेलाई माफी दियौं हामीले । त्यसैले मेरो पेल्मु सुगा बन्यो । उसलाई म मान्छे बनेको भन्दा ऊ आफू सुगा बनेको मन पर्छ रे । हजुरलाई फेरि पनि धेरै धन्यवाद!'
भूतसँग बिदा भएर सुगी भुर्र उडी, उसको पछिपछि पेल्मु पनि भुर्र उड्यो । पहिलो उडान भएर होला ऊ केहि असहजता महसुस गर्दै उडेको थियो । ऊ मान्छेबाट चरा बनेको थियो । मन त उनीहरुले धेरै पहिले साटेका थिए, तर आज धेरै बेरसम्मका मायाप्रेमका कुराकानीपछि बाँसघारीको बाँसलाई बिस्तरा बनाएर पेल्मु र सुगीले आफ्नो तन पनि साटेका थिए।
अहिले दिउँसो ३ बजेको थियो । आफ्नो पखेटाभित्र टाउको लुकाएर सुतेकी सुगीलाई उठाउँदै पेल्मुले भन्यो, 'सुगी .. म उड्दै गएर माथिको ओढार छेउको चिलाउनेको रुखमा तिम्रो लागी एउटा प्रेमपत्र लेखेर तिमीलाई पर्खिराखेको हुन्छु, तिमी ठीक ५ बजे त्यहाँ आउनू । अनि त्यो प्रेमपत्र पढेर मलाई सुनाउनू । त्यतिन्जेल म के गर्छु कता जान्छु हेर्न नपाई है ! झेल्ली गर्न नपाई है।'
सुगी सहमतिमा टाउको हल्लाउँछे।
पेल्मु एकचोटि सुगीको चुच्चोमा चुच्चो जोडेर माया गर्छ अनि सुगीलाई आँखा बन्द गर्न भनेर भुर्र उड्छ । उडेर ऊ ओढारतिर नगई आफ्नो बूढो रोगी बाको घरतिर जान्छ।
सुगा बन्नुअघि बालाई एकचोटि भेटेर आउँछु भनि उसले मालीगाईको दूध टिमुरको दाना गाउँबाट खोजेर ल्याई घरमा राखेको थियो । उसले बालाई यो दूध र तीन दाना टिमुर ३ बजेतिर अगेनोमा तताउँदै गर्नुहोला ठीक त्यही बेला एउटा सुगा उड्दै अगेनोमा आई आत्महत्या गरी मर्नेछ । मर्न ढिलो भए पनि हजुरले नमार्नुहोला । उसलाई आफैं मर्न दिनुहोला भनी अह्राएको थियो । बूढोले कुरा नपत्याएको देखेर उसले छहराखोलामा बस्ने भूतले आफूलाई यो सबै कुरा भनेको र यसो नगरे बाउछोरा नै मर्न सक्ने बताएको थियो।
पेल्मु उडेर घर आएको बेला बुढो अगेनामा माली गाईको दूध तताइरहेको थियो । उसले एकचोटि बाको रोगी बूढो अनुहार हेर्यो, अर्कोचोटि सुगीको मायालु अनुहार सम्झ्यो अनि अगेनोको आगोमा हामफाल्यो ।
ठीक ५ बजे सुगी चिलाउनेको रुखतिर लागी । प्रेमको चिठी पढ्न गएकी चरी आफ्नो प्रेमीको मृत्युको चिठी पढी । आफूलाई धिक्कारी, पेल्मुलाई धिक्कारी । सबैभन्दा धेरै त मायाको मूल्य नबुझ्ने मान्छेको जातलाई प्रेम गर्ने आफ्नो मनलाई धिक्कारी । रुँदैरुँदै पेल्मुको बाको घरतिर गई । पेल्मुको घर पुग्दा पेल्मुको बाको हातमा एउटा पखेटा केही डढेको पेल्मु रोइरहेको थियो । पेल्मुको बा पनि रुँदै भन्दै थियो 'तेरो बा हुँ म । तँ सुगा बनेर आए पनि तँ भुवा बनेर आएपनि चिन्छु । ... तँ... अ अ ... ...।'
बोली पूरा नहुँदै बूढाले देह त्यागिसकेको थियो । सुगी र पेल्मु अहिले सँगै बसेर रोइरहेका थिए।
हाल: दक्षिण कोरिया
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।