सप्तरी– परीक्षा रद्द भएपछि सप्तरीमा विद्यार्थी र प्रहरीबीच भएको झडपको क्रममा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विद्यार्थीसँग मिलेर प्रहरीलाई ढुंगा हान्ने गैर विद्यार्थी रहेको प्रहरीले जनाएको छ।
राजविराज स्थित पब्लिक विन्देश्वरी मावि परिक्षा केन्द्र नजिकैबाट उनलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेको पहिचान खुलेको छैन।
यसैगरी, विद्यार्थीहरुको भिडले राजविराज स्थित शिक्षा विकास तथा समन्वय इकाय कार्यालयमा तोडफोड गरेको छ। बिहानैदेखि नाराजुलुस गरिरहेका परीक्षार्थीहरूले हानेको ढुंगा लागेर शिक्षा विकास तथा समन्वय इकाय कार्यालयको झ्यालका सिसा फुटेका छन्।
यसैगरी, ना१झ ७८२ नम्बरको प्रहरीको गाडीको सिसा समेत फुटेको छ। आक्रोशित परीक्षार्थीका कारण केहि सदरमुकाम राजविराज तनावग्रस्त बनेको थियो।
जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीले टोलीले अवस्थालाई सामान्य नियन्त्रण लिएको छ। विद्यार्थीहरू तितरवितर भइरहेका छन्।
परीक्षा रद्द भएपछि आक्रोशित विद्यार्थीहरुले प्रदेश २ का आठै जिल्लामा प्रदर्शन गरेका छन्। यसअघि सर्लाहीमा आक्रोशित परीक्षार्थी तोडफोडमा उत्रेपछि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
शनिबार हुने एसइई अन्तर्गत अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र पनि आउट भएको थियो। प्रश्नपत्र प्रदेश २ को सामाजिक मामिला मन्त्रालयका उपसचिव ठूलबाबु दाहालको फेसबुक मेसेन्जरमा प्राप्त भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।