जनकपुर- शनिबार हुने एसइई अन्तर्गत अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र पनि आउट भएको आशंका गरिएको छ। प्रश्नपत्र प्रदेश २ को सामाजिक मामिला मन्त्रालयका उपसचिव ठूलबाबु दाहालको फेसबुक मेसेन्जरमा प्राप्त भएको हो। परीक्षाको एकदिन अघि नै दाहाललाई उक्त प्रश्नपत्र आएको सामाजिक मामिलामन्त्री नवलकिशोर साहले बताए।
फेसबुकबाट पनि प्रश्नपत्र बाहिरिएको बताइएको छ। तर ती प्रश्नपत्र सक्कली हुन् वा होइनन् आधिकारीक रुपमा पुष्टि हुन सकेको छैन।
प्रदेश २ मा एसइईको सबै विषयको प्रश्नपत्र आउट भएको आशंका गरिएको छ।
बिहीबार परीक्षा अगावै विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि परीक्षा रद्द गरिएको थियो। आज हुने भनिएको सामाजिक विषयको प्रश्नपत्र पनि आउट भएपछि परीक्षा नै स्थगित भएको छ।
परीक्षा रद्द भएपछि आक्रोशित विद्यार्थीहरु प्रदेश २ का आठै जिल्लामा प्रदर्शन गरेका छन्। कतिपय ठाउँमा प्रहरी र परीक्षार्थीबीच झडप भएको हो। सर्लाहीमा आक्रोशित परीक्षार्थी तोडफोडमा उत्रेपछि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिरहामा एक परीक्षार्थीलाई प्रहरीले कुटपिट गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।