काठमाडौं– नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले नेपाल विदेशी लगानीकर्ताका लागि मात्र नभई विदेशी पर्यटकका लागि पर्खेर बसेको उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएका छन्।
'लगानी सम्मेलन २०७५' को क्रममा बोल्दै सिइओ जोशीले नेपालको पर्यटकीय क्षेत्रमा लगानीको आवश्यकता हुनुको कारण पनि उदाउँदो पर्यटकीय गन्तव्य रहेको भन्दै लगानीको अवसर गुमाउन नहुने धारणा राखे।
‘हामी पर्यटन वर्षका रुपमा भिजिट २०२० मनाउन गइरहेका छौं। आशा छ त्यसलाई सफल बनाउन हामीले कुनै कसुर बाँकी छाड्ने छैनौ,' उनले भने, 'पर्यटन क्षेत्रमा पछिल्लो विकास भनेको त्रिभुवन अन्तर्राष्टिय विमानस्थललाई हामीले सुधार गरेका छौं। रामायण सर्किट र बुद्धिस्ट सर्किटको अवधारणा अघि सारेका छौं। त्यो नेपालमा धार्मिक पर्यटनको कोशेढुंगा हुनेछ।'
नेपाल आउन पर्यटकलाई निकै सजिलो रहेको उनको भनाइ छ। 'नेपालले चीन लगायत केही मुलुकका लागि भिसा जारी गर्दा पैसा लिँदैन। अधिकांश मुलुकका लागि अराइभल भिसा दिने गरेका छौं,' उनले भने, 'नेपालमा पर्यटन क्षेत्र यसकारण पनि उदाउँदो छ कि हामीले नेपाल आउने पर्यटकलाई सजिलै रुपमा भिसा उपलब्ध गराईरहेका छौं।'
लगानी सम्मेलनमा नेपालले पर्यटनका विभिन्न ५ क्षेत्रमा १७ वटा प्रोजेक्ट लगानीका लागि सोकेसमा राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।