हेमन्त जोशी/काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले औद्योगिक वातावरण बनाउनका लागि नेपालले नीति निर्माणमा सकारात्मक परिवर्तन गरेको भए पनि चुनौती अझै बाँकी रहेको बताएका छन्।
नेपालमा औद्योगिक क्षेत्र विस्तारको वातावरण बनाउन कस्ता खालका नीतिगत सुधार आवस्यक छन भन्ने प्रश्नमा केही वर्ष पहिलेसम्म १६ घन्टासम्म भोगेको ऊर्जा संकटको स्मरण गराउँदै गोल्छाले चुनौतीका चाङ अझै बाँकी रहेको बताएका हुन्।
आजदेखि काठमाडौंमा सुरु भएको लगानी सम्मेलन २०७५ मा आफ्नो धारणा राख्दै उनले नेपालको सानो बजार नै नेपाली उद्योगका लागि सबैभन्दा ठूलो चुनौती रहेको बताए। निकै सानो बजार भएका कारण ठूलो परिमाणमा वस्तु उत्पादन हुँदा पनि बजार नपाउने समस्या आउन सक्ने तथा उत्पादित वस्तु निर्यातमा पनि समस्या रहेको उनले बताए।
'भुक्तानी सन्तुलन नमिल्नु अर्को चुनौती हो,' गोल्छा भन्छन्, 'म भगवानलाई धन्यवाद नै भन्न चाहन्छु कि रेमिट्यान्सका कारण केही हदसम्म भुक्तानी सन्तुलन कायम हुन सकेको छ।’
गोल्छा यतिमै रोकिएनन्। उनले विदेशी लगानीकर्तालाई इंगित गर्दै भने, 'तपाईंहरुले विमानस्थलबाट होटलसम्म पुग्दा हाम्रो पूर्वाधारको अवस्था कस्तो छ भन्ने कुरा देखिसक्नुभयो। हामीकहाँ सडक पूर्वाधारदेखि भवन पूर्वाधार कस्तो छ भन्ने कुरा तपाईंहरुले थाहा पाइसक्नुभयो होला। म धन्यवाद भन्न चाहन्छु कि चिनियाँ र भारतीय कम्पनीले केही हदसम्म सडक निर्माण लगायत पूर्वाधार निर्माणमा राम्रो काम गरेका छन्।'
नेपालको नीति नियम भने अहिले निकै हदसम्म सुध्रिएको उनको भनाइ छ। ‘हामीसँग अझै पनि केही चुनौती छन्, जसलाई हामीले नकार्न सक्दैनौं। तर सरकारले नियम कानुनमा गरेको परिवर्तनलाई भने हामीले सराहनीय नै मान्नुपर्छ,' उनले भने।
नेपालमा उत्पादन गर्ने उद्योग मात्र होइन एसेम्ब्ली गर्ने उद्योगहरुका लागि पनि सम्भावना भएको उनको भनाइ थियो। एसेम्ब्ली उद्योगका लागि लगानी आउन सक्दा यो नेपालको उद्योग क्षेत्रको नै कोशेढुंगा साबित हुने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।