काठमाडौं– काठमाडौंमा लगानी सम्मेलन चलिरहेको छ।
सम्मेलनमा विभिन्न मुलुकबाट आएका लगानीकर्ताहरू पनि सहभागी छन्। नेपालमा उद्योग क्षेत्र, आर्थिक समृद्धिको आधार नाम दिइएको सत्रमा वक्ताका रुपमा थिए नेपालमा ठूलो लगानी भित्र्याएको होङसी सिमेन्टका वरिष्ठ उपाध्यक्ष सु गाङ।
छलफल सत्रमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका नेपाली व्यवसायी प्रदीपकुमार श्रेष्ठले 'नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ' भन्ने प्रश्नको जवाफमा गाङले लगानीकर्ताको कुरा सुन्न र उनीहरूका बारेमा जानकारी राख्न नेपालले कुनै कसुर राख्न नहुने धारणा राखेका हुन्।
‘म दावाका साथ भन्न सक्छु, अहिलेको समय नेपालमा लगानीका लागि उपुयुक्त वातावरण नै हो, ’ उनले भने, ‘हामीले नेपाल बाहेक अन्य मुलुकमा पनि लगानी गरेका छौं, तर अन्य मुलुकभन्दा नेपालमा फरक वातावरण छ।'
'हाम्रो आवश्यकता के हो र लगानीकर्ताले के चाहन्छन्' भन्ने कुरालाई पनि नेपालले प्राथमिकतामा राखिदिँदा आफूहरुलाई सजिलो हुने उनले बताए।
‘मेरो नेपाललाई सुझाव यो नै हो कि लगानी सुरक्षा गर्नेमा ध्यान पुगोस्,’ उनले भने, ‘नेपाल परिवर्तन भईरहेको छ।’
नेपालमा आफूहरूले अन्तर्राष्ट्रिय लगानी आर्कषण गर्न सकिन्छ भने सिमेन्टमा लगानी गरेका उनले बताए। ‘नेपाले वैदेशिक लगानीकर्तालाई आह्वान गरेको छ। त्यही अवसरलाई प्रयोग गरेर म अन्यलाई आउन आग्रह गर्दछु,’ उनले भने, 'होङसी सिमेन्ट नेपाल प्रवेश गरिसकेको छ, नेपालमा उच्च गुणस्तरका सिमेन्ट उत्पादन हुन सक्छ भनेर हामीले जानकारी पाएपछि लगानी गरेका हौं।’
नेपालमा थुप्रै क्षेत्र अझै बाँकी रहेको भन्दै उनले त्यसतर्फ हात हाल्न आग्रह गरे। 'त्यसकारण पनि म तपाईहरूलाई नेपालमा लगानी गर्न आगह गर्दछु,’ गाङले भने, ‘ नेपाल लगानीका लागि नयाँ गन्तव्य हुन सकोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।