काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले मुलुकमा लगानीयोग्य वातावरण सिर्जना गरेकोले त्यसका सदुपयोग गर्न आग्रह गरेका छन्। लगानी सम्मेलन अन्तर्गत ‘नेपालमा लगानीको अवसर’ विषयको पहिलो सत्रमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले विदेशी लगानीकर्ताहरुलाई आश्वस्त पार्न खोजेका हुन्।
उनले वैदेशिक लगानी भित्र्याउनका लागि नेपालले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक निजी साझेदारी लगानीसम्बन्धी ऐनलगायत लगानीसम्बन्धी कानूनलाई पूर्णता दिइएको बताए।
नेपाल लगानीका लागि भर्जिन ल्यान्ड भएको उल्लेख गर्दै राजनीतिक वातावरण सहज बनेको, लगानीमैत्री ऐन, नियम तथा नियमावली बनाइएको, मेहनती युवा जनशक्ति र सस्तो श्रमशक्ति उपलब्ध भएकाले पनि स्वदेशी तथा विदेशी लगानीकर्तालाई थप सहज हुने उनले बताए।
लगानीकर्तालाई सहजीकरणका लागि एकल बिन्दु सेवा केन्द्र स्थापना गरिएको, नीतिगत तथा प्रक्रियागत सहजीकरण गरिएको जानकारी दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले दुई सय मेगावाट माथिका आयोजना र रु ६ अर्बमाथिका परियोजनालाई सहजै रुपमा लगानी गर्नसक्ने अवस्था सिर्जना गरिएको बताए।
उनले अन्तरदेशीय प्रसारण लाइन निर्माण गरी नेपालमा उत्पादित बिजुली क्षेत्रीय बजारमा लैजान सक्ने वातावरण निर्माण भएको, नेपाल र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको बताए। लगानीकर्ताका लागि सहजीकरण गर्दै अनलाइनबाटै कम्पनी दर्ता गर्ने र राजस्व भुक्तानी गर्ने व्यवस्था गरिएको भन्दै सबै प्रकारका सेवा सहजरुपमा दिइने समेत उनले स्पष्ट पारे।
‘यस सम्मेलनले लगानीकर्तालाई लगानीका लागि महत्वपूर्ण अवसर सिर्जना गर्छ भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘दोहोरो करसम्बन्धी झन्झट हटाउन ११ देशसँग दोहोरो कर उन्मुक्ति सम्झौता भएको र हालै मात्र बङ्गलादेशसँग सोसम्बन्धी सम्झौता गरिएको छ।’
सम्मेलनमा आयोजनाको प्रस्तुतीकरण गर्दै अर्थ मन्त्रालयका सचिव लालशङ्कर घिमिरेले सडक सञ्जाल, रेलवे, ऊर्जा, कृषि तथा पर्यटन क्षेत्रमा निर्धक्कसँग लगानी गर्न सकिने बताए। सरकारले नेपाललाई सन् २०३० भित्र मध्यमस्तरीय आय भएको मुलुकका रुपमा परिणत गर्ने लक्ष्य राखेको उल्लेख गर्दै उनले युवा जनशक्ति, सहज बजारको पहुँच तथा न्यून आय भएका मुलुकले पाउने अन्तर्राष्ट्रिय सुविधाका कारण पनि नेपाल लगानीका लागि सहज स्थान भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।