रोशनमान श्रेष्ठ/दाङ– ठगी र जबरजस्ती करणी गरेको अभियोगमा दाङमा एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले तुलसीपुर उपमहानगरपालिका ११ बेलगनारका महेश भनिने भुवन धिताललाई ठगी र जबरजस्ती करणी गरेको भन्ने पीडितहरुको जाहेरीका आधारमा विभिन्न कागजातसहित पक्राउ गरी सार्वजनिक गरेको हो।
५ जना पीडितहरुको सामूहिक जाहेरी र जबरजस्ती करणीमा ३ जना महिलाबाट छुट्टाछुट्टै निवेदन परेपछि प्रहरीले धिताललाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका धितालको साथबाट १ करोड ६९ लाखको चेक रकमको ८२ थान चेक, २ वटा खाली चेक, १ करोड २४ लाखको तमसुक ३२ वटा, ४ वटा ढुकुटी खेलाएको रजिष्टर बरामद गरेको प्रहरीको भनाइ छ।
त्यसैगरी, ४ वटा खाली तमसुक, एक थान जलजला अनलाइनको पत्रकार परिचयपत्र, २ थान मोबाइल, १८ हजार ५ सय नगद, २ वटा सुनको औंठी, १ थान ब्रासलेट, एक थान घडीसहित बा १५ च ७६६८ नम्बरको फोर्ड गाडी र भे ८ प ३९५५ नम्बरको होन्डा स्कुटीसमेत बरामद गरी प्रहरीले सार्वजनिक गरेको छ।
पक्राउ परेका धितालले शैक्षिक स्तर कमजोर भएका, एकल महिला, श्रीमान् विदेश गएका महिलालाई 'समूहमा बसेर पैसा उठाउने र लगानी गर्यो भने राम्रो कमाइ हुन्छ' भनी सुरुमा ढुकुटी खेलाउँदै व्यक्ति ठगीमा अग्रसर भएको प्रहरी अनुसन्धानमा देखिएको छ।
साथै उनले आफू पत्रकार भएको, प्रहरीका हाकिमसँग राम्रो सम्बन्ध भएको भनी डर देखाएर ३६ प्रतिशत सम्म ब्याज असुल गर्ने, खाली चेकमा हस्ताक्षर गर्न लगाउने र विभिन्न बहानामा यौन शोषणसमेत गर्ने गरेको उजुरी परेको प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।
पक्राउ परेका धिताललाई दाङ र बाँकेको सिमानाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। प्रहरीले धितालमाथि अनुसन्धान गर्न दाङ देउखुरी जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागलाई समेत पठाउने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।