काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले पदीय गरिमा विपरीत टिप्पणी गरेको भन्दै आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहिबार साँझ विज्ञप्ति जारी गर्दै यस्तो टिप्पणी गरेको हो।
'आज एक कार्यक्रमका प्रनमन्त्रीले क्रममा नेपाली कांग्रेसप्रति गर्नु भएको टिप्पणीलाई हामीले प्रधानमन्त्रीको पदीय गरिमाको उचाई अनुरुप नभएका रुपमा लिएका छौं,' विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्रीको टिप्पणी दुःखद् र हलुका अभिव्यक्तिका रुपमा लिएका छौं।'
प्रधानमन्त्री ओलीले कांग्रेसले विप्लव समूहको नेकपाका गतिविधिमा साथ दिएको बताएका थिए।
एकदलीय अधिनायकवादको कम्युनिष्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वार्द्ध बिताएका प्रधानमन्त्रीले नै कांग्रेसप्रति त्यस्तो टिप्पणी गर्नु ‘आमाका अघि मावलको बयान'भन्दा भिन्न नभएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो।
कांग्रेसले विप्लव समूहलाई प्रतिबन्धित गरी राजनीतिक रुपमा कमजोरी गरेको बताउँदै आएको छ। उसले वार्ताबाटै सबै समस्याको समाधान निकाल्न सकिने दोहर्याएको छ। तर त्यस्तो भुमिका खेल्ने योग्यता भने भने प्रधानमन्त्रीसमक्ष नभएको आरोप कांग्रेसको छ।
यस्तो छ कांग्रेले जारी गरेको विज्ञप्ति
चैत्र १४, २०७५
प्रधानमन्त्रीको टिप्पणी : आमाको अगाडि मावलको बयान!
सम्माननीय प्रधानमन्त्री के.पी. ओलीले आज एक कार्यक्रमका क्रममा नेपाली कांग्रेसका प्रति गर्नु भएको टिप्पणीलाई हामीले प्रधानमन्त्रीको पदीय गरिमाको उचाई अनुरुप नभएको दुःखद र हलुका अभिव्यक्तिका रुपमा लिएका छौं।
१. एकदलीय अधिनायकवादको कम्युनिष्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वाध विताएका जो कोहीलाई जीवनको उत्तरार्धमा लोकतान्त्रिक पद्धतिको बाटो हिड्नु पर्ने परिस्थिति निश्चयनै कठिन रहेको मनस्थिति हामी बुझ्न सक्छौं। तर कांग्रेसले स्थापनाकालदेखि अंगिकार र विश्वास गरेको मार्गमा समाहित भएर अन्ततः कांग्रेसलाई नै लोकतन्त्रको व्याख्या सुनाउने कर्म ‘आमाका अघि मावलको बयान’ भन्दा भिन्न छैन।
२. विप्लव समूहलाई लगाइएको प्रतिबन्ध बारे हाम्रो धारणा प्रष्ट छ, नागरिक जीवनलाई सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हो तर निषेधले समाधानमा पुग्न सकिन्न। वार्ताबाट अन्तिम समाधानमा पुग्ने शासकीय योग्यता प्रधानमन्त्रीसँग हामी खोजिरहेका छौं र हत्या, हिंसा एवं चन्दा आतङ्क त्यागेर शान्तिपूर्ण प्रक्रियामा आउन विप्लव समूहलाई अपिल गरिरहेका छौं। विद्रोहीको हिंसा, राज्यको प्रतिबन्ध र प्रधानमन्त्रीका तिक्त अभिव्यक्तिहरुको आतङ्कले मुलुकलाई समाधान दिंदैन।
३. बिखण्डनको मुद्दा परित्याग गरेर नेपालको अखण्डता स्वीकार्ने जो कसैलाई हाम्रो स्वागत छ र रहनेछ तर सरकार–सिके सम्झौताको दोस्रो वुँदामा उल्लेखित ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को साझा व्याख्या सम्झौताको तीन साता पुग्दा पनि आउन नसक्नु दुःखद र आपत्तिजनक छ। तिक्त भाषणहरुमा समय खेर फाल्नु भन्दा परिपक्व छलफलमा समय लगाउनु पर्ने प्रधानमन्त्रीको कर्तव्य स्मरण गराउन चाहन्छौँ।
४. नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा निर्माण भएको संविधानप्रति स्वामित्व बोध सदैव गरेको छ र आवश्यक संशोधन मार्फत यसप्रति अपनत्वको दायरा विस्तार गर्न सकिने विषयप्रति विश्वस्त छ। कांग्रेसको कर्म र विश्वासप्रति औचित्यहिन टिप्पणीहरु गरेर दिन बिताउनु भन्दा जनताले सुम्पिएको दायित्व बमोजिम जिम्मेवार ढंगले कार्य गर्न प्रधानमन्त्रीजीलाई सचेत गराउन चाहन्छु।
जय नेपाल !
विश्वप्रकाश शर्मा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।