राजविराज– सप्तरीमा एसइई परीक्षामा चिट चोर्न सहयोग गर्ने एक जना केन्द्राध्यक्ष नै निष्काशनमा परेका छन्।
मावि बनरझुलाका केन्द्राध्यक्ष रामअवतार गुप्तालाई परीक्षा समन्वय समितिको टोलीले निष्काशन गरेको हो।
चिट चोर्न सहयोग गरिरहेको पाइएपछि उनलाई निष्काशन गरिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सप्तरी प्रमुख शंकार लुईंटेलले बताए।
यसैगरी, मोबाइल प्रयोग गरी भाइबर, इमो र म्यासेन्जरबाट चिट चोर्ने तीन जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।
बुधवारको अनिवार्य गणित विषयको परीक्षामा सहभागी हनुमाननगर परीक्षा केन्द्रका तीन जना परीक्षार्थीलाई मोबाइलसहित समातेको समन्वय इकाई सप्तरीले जनाएको छ।
सप्तरीमा यस वर्ष ८ हजार ६ सय १८ जना विद्यार्थी एसइईमा सहभागी छन्। परीक्षाका लागि ३३ वटा केन्द्र निर्धारण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।