काठमाडौं– पक्राउ परेका माओवादी नेता बालकृष्ण ढुंगेललाई सदरखोर डिल्लीबजार लगिएको छ।
ज्यान मुद्दासहित सर्वस्व जन्मकैद फैसला सुनाइएका उनलाई लामो समयपछि मंगलबार पक्राउ गरिएको हो। उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरेपछि डिल्लीबजारस्थित जेलमा राख्न लगिएको हो।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित अन्यविरुद्ध अवहेलना मुद्दा दर्ता भएको एक हप्ता नबित्दै फरार अभियुक्त ढुंगेल पक्राउ परेका हुन्। उनलाई आज बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललितपुर पाटनबाट पक्राउ गरेको हो।
न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले हत्या अभियोगमा दोषी ठहर भएका ढुंगेलले सार्वजनिक अभिनन्दन लिँदै हिँडेको र अदालतको फैसलालाई चुनौती दिएको भन्दै एक साताभित्र पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।