काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र कमजोर पार्न र अधिनायकवाद ल्याउन कम्युनिस्टहरुको गठबन्धन बनेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै देउवाले लोकतन्त्रलाई सुदृढ गराउन र प्रजातन्त्रको रक्षा गर्न कांगेसलाई जिताउनुपर्नेमा जोड दिए। उनले वाम गठबन्धन सरकारमा गयो भने प्रजातन्त्र पनि नरहने र मानवअधिकार समेत नरहने खतरा औंल्याए।
‘कम्युनिस्ट शासन आयो भने मानवअधिकारदेखि प्रजातन्त्र सबै समाप्त हुन्छ,’ उनले भने, ‘त्यतिबेला जनताले साह्रै दु:ख पाउँछन्। रुन समेत पाउँदैनन्।’
स्वाभिमानी ढंगले बाँच्न र प्रजातन्त्र बलियो बनाउने आधार कांग्रेसको घोषणापत्रमा रहेको उनको दाबी थियो।
उनले कांग्रेसले जनतालाई मालिक बनाउन चाहेको भन्दै प्रजातन्त्रकको रक्षका लागि एकजुट हुन आह्वान पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।