दिल्ली– इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सले दोस्रो खेलमा हार बेहोरेको छ। दिल्लीलाई मंगलबार राति भएको खेलमा चेन्नई सुपरकिंग्सले ६ विकेटले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको दिल्लीले ६ विकेटको क्षतिमा १ सय ४७ रन जोड्यो। १ सय ४८ रनको लक्ष्य चेन्नईले २ बल खेल्न बाँकी छदा पार गर्यो।
ब्याटिङमा दिल्लीका लागि शिखर धवनले ४७ बलमा ७ चौका हिर्काउदै ५१ रन तथा पृथ्वी शाहले १६ बलमा २४ रन जोडे। कप्तान श्रेयर इयरले १८ रन जोडे भने रिशव पन्तले २५ रन बटुले। बलिङमा चेन्नईका डिजे ब्राभोले ३ विकेट लिए।
चेन्नईको जितमा कप्तान महेन्द्रसिंह धोनीले नटआउट ३२ रन जोडे। उनले ३५ बलमा २ चौका र १ छक्का हिर्काए। सेन वाट्सनले २६ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४४ रन बटुले। सुरेश रैनाले १६ बलमा ३० रन र केदार जादवले २७ रनको योगदान दिए।
बलिङमा दिल्लीका अमित मिश्राले २ विकेट लिए। इशान्त शर्मा र कागिसो राबाडाले १–१ विकेट हात पारे। नेपालका युवा लेग स्पिनर सन्दीपलाई दिल्लीले दोस्रो खेलमा पनि मौका दिएन।
आइपिएलमा चेन्नईको लगातार दोस्रो जित हो। यसअघि चेन्नईले रोयल च्यालेन्जर्स बैंग्लोरलाई हराएको थियो। पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको दिल्लीको भने यो पहिलो हार हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।