काठमाडौं– होटलको हिसाबको विवादमा एक युवकले आफ्नै व्यवसायिक साझेदारको हत्या गरेका छन् । गोरखा घर भई नयाँबजार बस्ने राम परियारको साथीबाटै गत साता हत्या भएको हो ।
उनकै साथी सन्तोष भन्ने लालमान श्रेष्ठले उनको हत्या गरेका हुन् । घटनाको एक सातापछि प्रहरीले लालमानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाका अनुसार दुवै जना मिलेर विगत ६ महिनदेखि नयाँबजारमा ‘नयाँबजार खाजा घर’ चलाउदै आएका थिए । गत कात्तिक ५ गते सोही खाजाघरको हिसाबकिताबको विषयमा उनीहरुबीच बिजेश्वरीस्थित डेरामा विवाद भएको थियो । दुवै जनाले मदिरा पिएका थिए ।
हिसाबको विषयमा विवाद हुँदा लालमानले लोहोरो र गमलाले टाउकोमा हानेर राम परियारको हत्या गरेका हुन् । हत्यापछि परियारको औंठी तथा पैसा लिएर कोठामा ताल्चा लगाएर उनी भागेका थिए ।
कात्तिक ११ गते कोठामा दुर्घन्ध आएपछि घरबेटीले हेर्दा परियार मृत अवस्थामा भेटिएका थिए । फरार भएका श्रेष्ठलाई सोमबार पुतलीसडकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।