दमाैली- नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले तनहुँको बजार क्षेत्रका नाङ्गो तार हटाउन थालेको छ। करेन्ट लागेर ज्यान जाने, आगलागी हुनेजस्ता जोखिम र विद्युत चुहावट न्यूनीकरणका लागि नाङ्गो तार विस्थापित गर्न थालिएको केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए।
नाङ्गो तार हटाउन थालेपछि स्थानीय बासिन्दा खुसी भएका छन्।
'वितरण लाइन सुदृढीकरण कार्यक्रमअन्तर्गत नाङ्गो तार हटाउन थालिएको हो', केन्द्र प्रमुख गोशलीले भने। उनका अनुसार व्यास नगरपालिकाको वडा नम्बर १, २, ३, र बन्दीपुर गाउँपालिकाको वडा नम्बर २ र ४ को कुकुर्दी, तीनधारालगायतका क्षेत्रमा नाङ्गो तार विस्थापित गर्ने कार्य भइरहेको छ।
उक्त कार्यक्रमका लागि करीब ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। वाइबा इन्फ्रायाटिस कन्स्ट्रक्सन प्रालिले तार फेर्ने ठेक्का लिएको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार नाङ्गो तार झिकेर तार छोपिने केविसी (कालो) तार राखिएको छ। उक्त तार २० देखि २५ वर्षसम्म टिकाउ हुने केन्द्रले जनाएको छ। विद्युत सेवालाई भरपर्दो बनाउन आवश्यक भएका ठाउँमा ट्रान्सफर्मर थप गर्ने कार्यसमेत यसै वर्ष गरिने केन्द्र प्रमुख गोशलीले जानकारी दिए।
गोशलीका अनुसार म्याग्दे गाउँपालिकाको मनपाङ, थर्पु, मुलाबारी, रिसिङ गाउँपालिकाको झापुटारमा ट्रान्सफरमर थप गर्ने कार्य भइरहेको छ। टेलिभिजन, इन्टरनेट, केबलको तारले गर्दा विद्युत लाइन पड्किने, बढी भोल्टेज देखा पर्नेजस्ता समस्या आउने गरेको विद्युत कार्यालयका प्राविधिक बताउँछन्। जिल्लाका विभिन्न ठाउँका १२ किलोमिटरमा पुरानो नाङ्गो तार हटाएर नयाँ कालो तार फेर्ने काम भइरहेको छ।
नेपाल रेडक्रस सोसाइटी बन्दीपुर उपशाखाका निवर्तमान सभापति तथा बन्दीपुर सामुदायिक घरबासका पूर्वअध्यक्ष राजु बानियाँ नाङ्गो तार विस्थापित गरिनु जरुरी भएको बताए। नाङ्गो तारले गर्दा बन्दीपुर क्षेत्रमा दुई वर्षको अवधिमा ७ जनाले करेन्ट लागेर ज्यान गुमाउनुपरेको स्मरण गर्दै बानियाँले जिल्लाका सबै ठाउँको नाङ्गो तार हटाइनुपर्नेमा झाेड दिए।
जिल्लाभरका लागि ८० करोड रुपैयाँको लागतमा नयाँ विद्युतीकरण सुरु गरिन लागेको हुँदा नयाँ विद्युतीकरणमा नाङ्गो तार नराखिने केन्द्र प्रमुख गोशलीले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।