–सानेबहादुर नेपाली/रासस
तनहुँ- आर्थिक अवस्था कमजोर भएका लाभग्राहीले जनसहभागिता जुटाउन नसक्दा सीमान्तकृत समुदाय बोटेका घरले पूर्णता पाउन सकेको छैन। व्यास नगरपालिका–५, लुतेवराहका बोटेले घर निर्माण गर्न नसक्दा उनीहरु चैतको हावाहुरीले छाप्राको छानो उडाइदिन्छ कि भनेर चिन्तित भएका छन्।
सहरी विकास तथा भवन कार्यालयले तोकिएको मापदण्डअनुसार २ कोठे र शौचालयसहितको एक घर निर्माणका लागि ३ लाख ३२ हजार ५ सय रुपैयाँ उपलब्ध गराए उनीहरुले जनसहभागिता जुटाउन नसक्दा घरले पूर्णता पाउन नसकेपछि बोटे समुदाय चिन्तित भएका हुन्।
सवइञ्जिनीयर शङ्करराज गैरेले लाभग्राहीले जनसहभागिता जुटाउन नसक्दा घरले पूर्णता पाउन नसकेको बताए। सरकारको प्राथमिकतामा रहेको 'जनता आवास कार्यक्रम' कार्यान्वयन कार्यविधिअनुसार जनसहभागिता जुटाउनुपर्ने हुन्छ।
यहाँ निर्माण भएका सबै घरमा नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रको सहयोगमा बत्तीसमेत जडान भइसकेको छ। तर निर्माण सम्पन्न गरेर नयाँ घरमा सर्ने अवस्था छैन। नयाँ घरमा झ्यालढोका लगाइएको छैन। त्यसैले उनीहरु टहरोमै बस्न बाध्य छन्। पानी पर्दा र हावाहुरी आउँदा उडाउँछ कि भन्ने चिन्तामा रहने यहाँका बोटेलाई नयाँ निर्माण गरिएको घरले पनि सहजता दिन नसकेको हो।
व्यास नगरपालिका-५ क्षेत्रमा जनता आवास कार्यक्रममार्फत ३५ घर निर्माण भइरहेका छन्। सोही वडाको रानीटारी, चिन्तुटार, चुँदेर र नेपालटारमा समेत घर निर्माण भइरहेको छ।
निर्माण भइरहेका घरमध्ये २१ घर दलित र १४ घर बोटे समुदायका छन्। जनता आवासको गत आर्थिक वर्षको कार्यक्रमअन्तर्गत तनहुँमा २ सय १३ घर निर्माण कार्य भइरहेका छन्। अन्तिम किस्ताको रकम निकासामा ढिलाइ हुँदा घर निर्माण कार्य पनि ढिलाइ भइरहेको बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।