काठमाडौं- गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले तीन महिने आन्दोलनको घोषणा गरेको छ।
पेन्सन लगायतका सेवा, सुविधा समान रुपमा उपलब्ध गराउन बेलायत सरकारसँग कूटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गर्दै गेसोले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
गेसोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बेलायत सरकारले पेन्सन लगायतका सेवा, सुविधामा गरेको विभेद अन्त्यका लागि तत्काल वार्ता समिति गठन गरी बेलायत सरकारसँग कूटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गरेको छ। बेलायती सेनासरह गोरखा भूतपूर्व सैनिकहरुलाई पनि पेन्सन लगायतका सेवा सुविधा तत्काल उपलब्ध गराउन कूटनीतिक पहल गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गर्नुपरेको गेसोका अध्यक्ष कृष्णकुमार राईले जानकारी दिए।
आन्दोलनको कार्यक्रम अनुसार गेसोले आफ्ना माग सम्बोधन गराउन नेपाल सरकार र बेलायत सरकारका प्रधानमन्त्री लगायतका सम्बन्धित मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउनेछ। त्यसैगरी बेलायती प्रधानमन्त्रीको कार्यालयअगाडि आफूहरुको मागलाई सम्बोधन गर्न बाध्य हुने गरी प्रदर्शन गर्ने निर्णय पनि गरिएको गेसोका अध्यक्ष राईले बताए।
बेलायत सरकारले बेलायती सेनासरह पेन्सन लगायतको सेवा सुविधा नदिएपछि गोर्खा भूतपूर्व सैनिकहरु त्यसविरुद्ध आन्दोलनमा होमिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।