गलेश्वर- हिमपातका कारण डेढ महिनादेखि ठप्प रहेको गुर्जा हिमाल जाने बाटो स्थानीयले हिउँ पन्छाएर खुलाएका छन्।
म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ, देउराली, लट्बाङ हुँदै गुर्जा पुग्ने पैदलमार्गमा करीब दुई फिट जमेको हिउँलाई पन्छाएर बाटो खुला गरिएको धौलागिरि गाउँपालिकाका प्रवक्ता तथा गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए।
'करिब डेढ महिनादेखि पटक-पटक हिउँ परेपछि बाटो अवरुद्ध भएको थियो', छन्त्यालले भने, 'पैदलयात्री, खाद्यान्न ढुवानी र खच्चड आवतजावत गर्न समस्या भएपछि स्थानीयले दुई दिनसम्म श्रमदान गरेर बाटो खुलाएका हौँ।'
हिउँ पन्छाएर बाटो खुलाएपछि पैदलमार्गमा अब कुनै समस्या नरहेको उनले बताए। लुलाङ र गुर्जाको सिमानामा पर्ने देउरालीमा करिब ४ फिट हिउँ जमेर हिँड्न नसक्ने भएपछि स्थानीयले वैकल्पिक मार्ग बनाएका थिए। तर, त्यो मार्ग पनि जोखिमयुक्त भएपछि बन्द गरिएको थियो।
चट्टानजस्तै हिउँ नपग्लिँदा गुर्जाबाट गाउँपालिकाको केन्द्र हुँदै सदरमुकाम बेनी आउने स्थानीयले गुर्जाबाट मुदीको अर्चे हुँदै मुनातर्फ जाने गरे पनि सो बाटा पनि अत्यन्त जोखिमपूर्ण रहेकाले समस्या भएको थियो। गुर्जामा एउटै बस्तीमा करिब ३ सय घरधुरीको बसोबास रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।