पार्टी भित्रको एकताको सन्देश लिएर म मधेस आएको हुँ। पार्टीमात्र होइन मधेस र पहाडको एकतालाई बलियो बनाउनका लागि म मधेस आएको हुँ।
राजनीतिक जीवनमा नेपाल र नेपालीले भोगेका समस्याबाट परिचित भएको छु। मधेसप्रति कांग्रेस अनुदार भयो भन्नेहरु छन्।
मलाई याद छ। म मन्त्री भएको बेलामा लाखौं मेट्रिकटन खाद्यान्न लिएर मधेस आएको थिएँ। झापादेखि कञ्चनपुरसम्म पुगेको छु। मधेसवासीको सुखदुःखमा साथ दिनका लागि म मधेस आएको हुँ। मेरो पालामा मैले मधेसमा थुप्रै योजना लिएर आएको थिएँ। मधेस आन्दोलन चलिरहेका बेलामा पनि वार्ता गर्न म मधेस आएको थिएँ।
कांग्रेस र मधेसी जनताबीच सम्बन्ध प्रगाढ छ। लोकतन्त्रको दियो मधेसबाट बलेको हो। मधेस लोकतन्त्र र नेपाली कांग्रेस एक अर्कामा परिपुरक हुन्। संविधानमा मधेसी जनताको माग भनेको मधेसमा बसेर सम्पुर्ण हैसियत होस् भन्ने चाहेका हुन्। संविधानले थुप्रै अधिकार दिएका छन्।
हुलाकी राजमार्ग नेपाली कांग्रेसका पालामा भएको हो। चुरेको संरक्षण होस् भन्ने हामीले चाहेका छौं। मधेसको हितका लागि चुरे संरक्षण आवश्यक छ। प्रधानमन्त्री केपी शर्मा ओली पानीजहाज भन्दै हुनुहुन्छ। तर, हामी मधेसका जनतालाई पानी चाहिएको छ।
प्रधानमन्त्री पानीजहाज भन्दै हिड्नुभएको छ। मधेसमा सिँचाइका लागि पानी आवश्यक छ। मधेसमा सिँचाइको व्यवस्था गरेर कृषि क्रान्ति गर्नसके मुलुक आत्मनिर्भर बन्छ।
मधेसमा बस्ती सुधार गर्न आवश्यक छ। चुरेबाट बगेर आएको गेगर निकालेर आधुनिक बस्ती बनाउन जरुरी छ। हामीले चाहेको कृषि क्रान्ति हाम्रो आवश्यकता हो। पर्यटनको विस्तार पनि हामीले गर्नैपर्छ। पहाडको पानी र मधेसको जमिन मिलाउनु आजको आवश्यकता हो। मधेसका जनताले पहाडमा भएका ठूला योजनाहरुको सेयर पाउनुपर्छ।
मधेसको हित के गर्दा हुन्छ मधेसका नेताहरुले त्यतातिर बहस चलाउन जरुरी छ। मधेसी नेताहरु आफूले मधेस विरोधी भनेका नेताहरुसँग मन्त्री पदका लागि सहकार्य गरिरहेका छन्। मधेसी दलका नेताहरुकाे मधेसको नारा जनताका लागि होइन आफ्ना लागि हो। जनताको लागि लड्ने पार्टी को हाे भन्ने छुट्याउन जरुरी छ।
संसदको लेखा समिति जहाँ नेकपाको बहुमत छ, त्यो समितिले 'वाइड बडी' भ्रष्टfचार भएको छ भनेको छ। अनि प्रधानमन्त्रीले समितिमा भ्रष्टाचार आरोप लागेका मन्त्री निर्दोष छन् भन्ने गर्नुभएकाे छ। यो कुरा भन्न मिल्छ प्रधानमन्त्रीले उहाँ अख्तियारको प्रमुख हो। उहाँ प्रधानन्यायधीश हो।
यो सरकार संघीयताको विरोधमा लागेको छ। मधेसमा आएको अधिकारका बारेमा यहाँका नेताहरु किन बोल्दैनन्। अहिले प्रधानमन्त्री आफूमा सम्पूर्ण अधिकार केन्द्रित गरेर अधिनायकवादतर्फ उन्मुख छन्। पैसाको बलमा राजनीति आफ्नो पक्षमा लिने काम बढिरहेको छ। यो कुरा रोक्न जरुरी छ। हामीले देशलाई सुशासनको बाटोमा हिँडाउन जरुरी छ।
यो सरकार सुरक्षा सुशासन र विकास ३ काममा नै असफल भइसक्यो। शान्ति सुरक्षाको अवस्था दिनानुदिन खस्किँदै छ। भ्रष्टचार बढेकोबढ्यै छ। विकास निर्माणको काम शून्य छ।
विप्लवको कुरा स्वयम् प्रचण्डलाई थाहा छ, तर अहिले आएर फेरि प्रतिबन्ध लगाउने कुरा किन भएको छ।
अहिले देशका संवैधानिक निकाय के हेरेर बसेका छन्? अहिले अख्तियारमाथि प्रश्न उठेको छ। सबै संवैधानिक निकायलाई सरकारले दुई तिहाईको धम्की दिएर राखेको छ। सबै ठूला-ठूला नेताहरु एकै ठाउँमा धेरै अनियमिततामा देखिएका छन्। ठूला-ठूला काण्डहरुलाई हामीले रोक्न सकेनौं भने लोकतन्त्र नै खतरामा पर्दछ।
पार्टीभित्र सुधारसहितको एकता आवश्यक छ।
लोकतन्त्र बलियो भएमात्र मधेस बलियो हुन्छ। लोकतन्त्र बलियो भएका बेलामा मधेसी जनताका आवज सुनिन्छ। सबै नेपाली बराबर भन्ने लोकतन्त्रले ल्याएको हो।
भाषा आयोग हामीले बनाएको हो । प्रजातान्त्रिक समाजवाद र कम्युनिष्टको समाजवाद धेरै फरक छ। यो विषयमा बहस हुनु जरुरी छ।
(वरिष्ठ नेता पाैडेलले नेपाली कांग्रेस सर्लाहीले आइतबार आयोजना गरेको आमसभालाई गरेकाे सम्बोधनकाे सम्पादित अंश।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।