जनकपुर- प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर शाहले एसइई परीक्षा केन्द्रको निरीक्षण गर्ने क्रममा केन्द्राध्यक्षमाथि गालीगलौज गरेका छन्।
आइतबार बिहान धनुषा जिल्लाको सरस्वती नमूना माध्यमिक विद्यालयमा निरीक्षणको क्रममा मन्त्री शाहले केन्द्राध्यक्षसहित परीक्षा हलमा बसेका शिक्षकहरूलाई समेत अभद्र व्यवहार गरेका हुन्। पीडित शिक्षक र र केन्द्राध्यक्षले पत्रकार सम्मेलन गरेर उक्त आरोप लगाएका हुन्।
परीक्षा सकिएको केही घण्टा मै नेपाल शिक्षक संघले पत्रकार सम्मेलन ग़री दुर्व्यवहार गर्ने मन्त्रीको राजीनामा समेत माग गरेका छन्।
पत्रकारसँग कुरा गर्दै संघका प्रदेश २ अध्यक्ष मेघनाघ यादवले मन्त्री जस्तो व्यक्तिले शिक्षकलाई अपशब्द प्रयोग गर्नु दुःखद भएको बताए। उनले मन्त्री साहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरे। मन्त्री साहले गल्ती स्वीकार गर्दै माफी नमागे प्रदेश २ का सबै शिक्षक आन्दोलनमा जाने चेतावनी पत्रकार सम्मेलनमा दिइएको छ।
बिहान ९ बजे विद्यालय पुगेका मन्त्री साहले निरीक्षकको परिचयपत्रमा फोटो नभएको भन्दै 'गालीगलौज' गरेका हुन्। विद्यालयका शिक्षक बेचन रामलाई मन्त्री साहले हिन्दीमा गालीगलौज गर्दै भने, ‘तुम्हे संस्कार नही हैं। फोटो क्यूं नै रखा।’ उक्त विद्यालयकै स्थायी शिक्षक रहेका निरीक्षक बेचन रामले आफूलाई चमार/दलित भनेर मन्त्रीले हप्काएको बताए। बेचन रामले आफू यसै विद्यालय स्थायी शिक्षक भएको भन्दै मन्त्रीलाई परिचयपत्र पनि देखाएका थिए।
परीक्षा केन्द्रमा ४ शिक्षककाे परिचयपत्रमा फोटो थिएन। फोटो नहुनेमा शंकर दास, सीमाकुमारी कर्ण, विनिता यादव र बेचन राम हुन्।
त्यस्तै मन्त्री शाहले केन्द्राध्यक्ष सत्य नारायण मण्डलमाथि पनि हप्कीदप्की गरेका छन्। केन्द्राध्यक्ष मण्डलले भने, ‘मलाई पनि आएर गाली गर्नुभयो। तपाईंको जागिर खाइदिन्छु। तपाईंलाई हटाइदिन्छु। ‘बेवकुप’ भनेर हप्काउनुभयो।’ मण्डलका अनुसार मन्त्रीले आफूलाई केन्द्राध्यक्षबाट हटाइदिने धम्की दिँदै यस्तालाई कसले केन्द्राध्यक्ष बनाएको भनेर हप्काए। विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने भन्दै मण्डलले मन्त्रीको हर्कत सहेरै भएपनि परीक्षा सञ्चालन गरेको बताए।
नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष राम सिनेही यादवले मन्त्रीको मानसिक सन्तुलन गुमेको हुनसक्ने भन्दै उक्त व्यवहारप्रति कटु आलोचना गरे। मन्त्री साहले गल्ती स्वीकार गर्दै माफी नमागे प्रदेश २ का सबै शिक्षक आन्दोलनमा जाने यादवले समेत चेतावनी दिए।
शिक्षक बेचन रामकाे परिचय पत्र
यसअघि पनि मन्त्री साहले आफ्नै गृहजिल्ला सप्तरीमा पत्रकारहरुलाइ जुत्ताले हान्नुपर्ने अभिव्यक्ति दिदाँ विवादमा परेका थिए। पदीय मर्यादा बिर्सेर पटक-पटक यस्ता हप्कीदप्की, गालीगलौज तथा विवादित अभिव्यक्ति दिँदै आएपनि मन्त्री साह माथि कुनै किसिमको कारबाही हुनसकेको छैन।
मन्त्री साहले भने आफूमाथि लगाइएको सम्पूर्ण आरोप गलत भएको प्रतिक्रिया दिएका छन्। आफ्नो निवासमा सञ्चारकर्मीसँग बोल्दै उनले आफू परीक्षा केन्द्र निरीक्षणमा गएको तर कसैलाई दुर्व्यवहार नगरेको दाबी गरे।
उक्त केन्द्रमा ११ वटा विद्यालयको केन्द्र परेको छ। परीक्षाका लागि ४ सय ८ विद्यार्थीका लागि १८ जना निरीक्षक खटाइएको केन्द्राध्यक्ष मण्डलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।