ठ्याक्कै १० वर्षअघि उनको एउटै चाहना थियो– ‘धेरैले चिनून्।’
आज उनलाई कतिले चिन्छन्?
‘मैले अपेक्षा गरेभन्दा बढीले,’ उनी भन्छिन्।
यसको अर्थ उनले तय गरेको लक्ष्य भेटिएको छ। लक्ष्य भेट्दा जो कोही खुसी हुन्छ। लक्ष्यमा पुग्नुको असली स्वाद पाइनन् सायद। त्यसैले भन्छिन्, ‘कतिपय लक्ष्य यस्ता हुँदा रहेछन्, भेटेपछि पनि दुःखी हुनुपर्छ।’
किन बेखुस छिन् त उनी?
घुमाउरो उत्तर दिइन्, ‘सागरको पानी बाहिरबाट हेर्दा मात्रै सुन्दर देखिँदो रहेछ, खाँदा त्यति नै नमिठो। फिल्म क्षेत्र पनि त्यस्तै सागर हो, जहाँको पानी नुनिलो हुन्छ।’
आफ्नो मिल्ने साथीको जन्मदिनमा भेटिएकी उनी त्यो दिन बडो ‘मुड’मा थिइन्। ६ बजेतिरबाटै सुरु गरिएको पार्टीमा पुग्ने म अन्तिम पाहुना थिएँ। ९ बजेतिर पुग्दा बर्थ डे गर्लका चार जना मिल्ने साथीमात्रै उनलाई ‘कम्पनी’ दिइरहेका थिए।
उनीहरूको ग्रुपमा ज्वाइन हुनेबित्तिकै ती हिरोइनले केही थान गुनासो सुनाइन्। पत्रकारबाट सुरु भएको उनको आक्रोश सर्वसाधारणसम्म पुगेर टुंगियो। वाइनको नशाले उनलाई जति धेरै छोपिरहेको थियो, त्यति नै धेरै आफूबारे खुलिरहेकी थिइन्। उनले कहिल्यै प्रस्तुत नगरेको तर्क गर्ने क्षमता देखेर हामी चकित भइरहेका थियौं।
चिन्तक ओशो रजनीश भन्छन्, ‘अल्कोहलले मान्छेको दिमागमा हुने ‘सेन्सर गार्ड’लाई लट्ठ बनाएर सुताइदिन्छ।’ सायद उनको मामिलामा पनि यस्तै भएको थियो।
बर्थ डे गर्लले सुरुमै भनिन्, ‘दाइ माइन्ड नगर्नू, आज यिनको अवस्था त्यति ठिक छैन। अघिदेखि सबैसँग यसैगरी बाझिरहेकी छिन्।’
‘सदाभन्दा आज फरक भेटियो तपाईंलाई। वाइनले जात देखाएछ!’ ठट्टा गरियो।
‘वाइनले होइन, त्यो खातेले जात देखायो,’ उनी रिसाइन्।
हामीले मुखामुख गर्यौं, ‘को थियो त्यो?’
‘त्यही अघि आएको व्यापारी भनाउँदो। तिम्रो (बर्थ डे गर्लको) दाइ भनेर मात्रै हो, नत्र चप्पल हानेर पठाउथेँ,’ वाइनको मात्रासँगै आक्रोश पनि बढ्दै गइरहेको थियो।
‘के भन्नुभयो र त्यस्तो?’ बर्थ डे गर्लले चासो राखिन्।
‘के भनेन त्यो खातेले? शुक्रबार कतै घुम्न जाऊँ भन्यो। म त्यस्ती केटी होइन भनेँ,’ उनले घटना विवरण सुनाउँदै गइन्, ‘अचेलका हिरोइन र वेश्यामा के फरक छ पो भन्छ?’ मैले ‘मुख सम्हालेर बोल्नुहोस् नत्र झापड खानुहोला’ भनेँ। ऊ फन्केर गयो।’
बर्थ डे गर्लको अनुहार पनि रिसले रातो भयो। रिस कोसँग? त्यो व्यापारी दाइसँग (पार्टी उसकै स्पोन्सरसिपमा भएका हल्ला सुनेका थियौँ) वा उसलाई गाली गर्ने ती हिरोइसँग? हामीले भेउ पाएनौँ।
सुटिङ युनिटकै कसैले एउटा अनलाइनका पत्रकारलाई ‘हामीबीच अफेयर’ रहेको हल्ला सुनाइदियो। पहिलोपल्ट मेरो चरित्रमाथि दाग लागेको थियो। म रातभरि रोएँ, त्यो समय।
उनी भन्दै गइन्, ‘धेरैले यस्तै सोच्छन्। कलाकार महिलालाई हेरिने यो आम दृष्टिकोण हो। फेसबुकमा चार दिन च्याट हुन पाएको छैन, कफी खान अफर गर्छ। फोनमा फ्यान बनेर दुई दिन प्रशंसा गर्छ, तेस्रो दिन दुईअर्थी शब्द बोलेर जिस्किन थाल्छ।’
विकासोन्मुख नेपालमा मात्रै होइन, बलिउड र हलिउडका महिलामाथि समेत यो दृष्टिकोणले हेरिने गरिन्छ।
हिजोआज विश्वभर ह्यासट्याग मिटू अभियानका रुपमा चलिरहेको प्रसंगबारे उनलाई सुनाएँ। महिलामाथिको यौन दुर्व्यवारका विरुद्ध हलिउड नायिका मिलानोले यो अभियान २० अक्टोबरमा चलाएकी हुन्। हलिउडका फिल्म निर्माता हार्भे विन्स्टनले आफूमाथि गरेको यौन दुर्व्यवहारको घटना पर्दाफास गर्न सामाजिक सञ्जालमार्फत उनी लागिपरेकी छिन्।
यौन उत्पीडन सहन नहुने र महिलामाथि दुर्व्यवहार गर्नेहरुलाई कानुनी कठघरामा उभ्याउनुपर्ने मनसायले आफ्नो पीडा खुलेर भन्न उनले मीटू ह्यासट्याग चलाउन आग्रह गरिन्। यही ह्यासट्याग प्रयोग गरी यौन दुर्व्यवहारको सिकार भएकाहरुले आक्रामक रुपमा आफ्नो पीडा सार्वजनिक गरिरहेका छन्। अभियानमा कलाकार, पत्रकार, सामाजिक अभियन्ता, महिला नेतृ लगायत सहभागी छन्। यो अभियानमार्फत धेरैजसो अमेरिका, युरोप र मध्यपूर्वी क्षेत्रका महिलाले आफ्ना पीडा सार्वजनिक गरिरहेका छन्।
उनी निकै चासोपूर्वक मेरो कुरा सुनिरहेकी थिइन्। उनी थप बोल्न खोज्दै थिइन्, मैले ‘आफू भलो त संसार भलो’ भन्ने नेपाली उखान सम्झाएँ।
भारतीय सञ्चारमाध्यम ‘आज तक’ का फिल्म समीक्षक सौरभ द्विवेदीले अनलाइनमा एउटा सवालजवाफ गर्छन्। बलिउडमाथि दर्शकले राखेको जिज्ञासा मेटाउने ‘सौरभसँग सवाल’ भन्ने नियमित स्तम्भ छ। उनले पनि यस्ता धेरै प्रश्न झेल्छन्। केही दिनअघि ‘बलिउडकी हिरोइन र वेश्यामा के फरक छ?’ भन्ने आशयको प्रश्नमा उनले एक लाइनमा जवाफ दिएका थिए, ‘यो घटिया विचार हो। उत्तर पनि घटिया नै दिने हो भने वेश्या त तपाईंकी दिदी–बहिनी पनि बन्न सक्छन्, हिरोइन बन्न सक्दैनन्।’
यो प्रसंगले उनको मनोबल बढेछ। थप प्रसंग उप्काइन्। उनले भनिन्, ‘हामी सदा हिरोइन बन्ने प्रयत्नमा हुन्छौं, समाजले सधैं चरित्रहीन महिला बनाउने प्रयत्न गरिरहन्छ।’
उनले जीवनका १० वर्ष केलाइन्। सम्झिइन् ती दिन।
०००
केटाहरू कलेजबाहिर कुर्थे, एक झल्को हेर्नका लागि (उनी महिला मात्रै पढ्ने क्याम्पसकी विद्यार्थी हुन्)। मलाई ‘बाल’ हुन्थेन। कतिले हिरोइन जस्ती भनिदिन्थे। बिस्तारै लाग्दै गयो, हिरोइन नै भइयो भने गजब हुन्छ।
मैले मनमा भोलि गएर हिरोइन नै बन्न लक्ष्य तय गरेँ। साथीको सहयोगमा एक जना म्युजिक भिडियोका निर्देशक भेटेँ। उनले भेट्न बोलाए, साथी लिएर गएकी थिएँ। बेलुका फोनमा गाली गरे, ‘साथी लिएर आउन थाल्यौ भने त कलाकार बन्न सक्दिनौ।’ त्यो दिनबाट सँगै साथी लिन छाडिदिएँ। उनी टाँसिएर बस्दै जिस्किन थाले, मलाई अप्ठेरो लागेर पर सरेँ। उनले भने, ‘यस्तो गर्नेले केटासँग रोमान्सको सिन कसरी गर्छ्यौ?’ त्यसपछि टाढा सर्न छाडिदिएँ।
मेरा धेरै साथी चुरोट र हुक्काको कुलतमा थिए। मैले कहिल्यै छोइनँ। म्युजिक भिडियोमा चुरोट र वाइन खाने दृश्य राखियो। खान लगाइयो, मलाई अप्ठेरो पर्यो। पछि निर्देशक आफैंले खाइरहेको चुरोट एक सर्को तान्न भने। एक पेगमात्रै रक्सी खान अनुरोध गरे। बानी पारेपछि अर्कोपल्ट त्यस्ता दृश्य दिन गाह्रो नहुने तर्क थियो उनको।
फिल्म खेलेँ। निर्देशक म्युजिक भिडियो गरिसकेका चिनजानकै थिए, उनीसँग हाँस्ने/बोल्ने बढी हुने नै भयो। सुटिङ युनिटकै कसैले एउटा अनलाइनका पत्रकारलाई ‘हामीबीच अफेयर’ रहेको हल्ला सुनाइदियो। पहिलोपल्ट मेरो चरित्रमाथि दाग लागेको थियो। म रातभरि रोएँ, त्यो समय। निर्देशकले सम्झाए, ‘पब्लिसिटी भइरहेको छ। तिमीले स्टार हिरोइन बन्न यति त सहनुपर्यो। खण्डन गर्दा भोलि झन् खेदो खन्छन्।’
सुटिङ भइरहेकै समयमा एकदिन निर्देशकले प्रस्ताव गरे, ‘मिडियामा त आइसक्यो। हामी साँच्चिकै प्रेमी–प्रेमिका बनिदिऊँ।’ उनी पनि अविवाहित भएकाले ‘ठिकै छ’ जस्तो लाग्यो। नजिक रहँदै गर्दा कतै उनको मनमा स्पेस पनि बनाएकी थिएँ कि!
केही फिल्म सँगै गरियो। मैले अरूका फिल्ममा पनि काम पाउँदै गएँ। ती निर्देशकले अर्की हिरोइन भेटेछन्, मसँग दुरी बढाए। म टाढिनैपर्यो, टाढिएँ। यतिन्जेल चुरोट, रक्सी खाने मात्रै होइन, पुरुषसँग रात बिताउने कुरा स्वाभाविक भइसकेको थियो।
उसले छाडेपछि एक्ली भएँ। अर्को कोही माया गर्न थाल्यो, उसको ठाउँ भर्नका लागि मात्रै होइन, घरबारै गर्नुपर्ला भनेर अपनाएँ। मसँग स्वार्थसिद्ध भएपछि ऊ पनि टाढियो। म जीवनदेखि निराश भएँ। उनीहरूले सिकाएका कुलतको जालमा पनि त्यति नै जेलिँदै गइरहेकी थिएँ।
कसम खाएर भन्न सक्छु, मैले अहिलेसम्म जम्मा दुई पुरुषसँग संगत गरेँ। मिडियामा पनि यत्ति नै आए। मेरो प्रश्न, यो जमानाका कुन युवतीको जीवनमा दुइटा पुरुष आएका छैनन्?
तर, मलाई हेर्ने र अरूलाई हेर्ने समाजको दृष्टिकोणमा भिन्नता छ। कसैले दुई वचन मिठो बोल्दा ‘घुम्न जाने प्रस्ताव’ निर्धक्क राख्न सक्छ मलाई! किनभने, म आफ्नो बेइज्जत हुने डरले यसलाई इस्यू बनाउन चाहन्नँ। आम युवतीले ‘यौनहिंसा’ भएको भन्दै उजुरी गर्न सक्छन्।
धेरै साथीहरूले यही कारण भन्छन्, ‘यसै पनि हामीलाई समाजले हेर्ने नजर राम्रो छैन। चरित्रगत हिसाबले सीता रहेर अग्निपरीक्षा दिँदा पनि हामीलाई समाजले भित्रैदेखि स्विकार्दैन।’ धेरै यही कारण बिग्रेका छन्, ‘म यसै भत्किएँ, उसै बिग्रिएँ’ भनेजस्तै।
मेरा आफ्नै १० वर्ष केलाउँछु। म सदा हिरोइन बन्ने प्रक्रियामा थिएँ। यो समाजका पुरुषहरू ‘वेश्या’ बनाउने वा भनाउनेतर्फ लागिरहे। किनभने, हिरोइन बनाउने प्रक्रिया नै गलत तरिकाले सुरु हुन्छ।
०००
उनले मातमा सुनाएका यी प्रसंगले भोलिपल्टसम्म मलाई ‘ह्याङ’ गरायो। यौनकर्मी जसलाई समाजले ‘वेश्या’ भन्छ, तिनले अर्कै ग्रहबाट आउने ‘पिके’लाई सेवा दिने होइन। यही समाजले बनाउँछ उनीहरूलाई, यही समाजका लागि हुन् उनीहरू।
वेश्या बनाउन चाहनेहरूको भिडबाट बचेर, त्यसलाई छिचोलेर राम्रो हिरोइन बन्नु निःसन्देह कठिन छ। सिंगो ‘सिस्टम’ नै त्रुटिपूर्ण भएपछि धेरै कुरा बिग्रन्छन्, भत्कन्छन्। र, कुरूपताहरूको जगजगी हुन्छ। तीबाट जोगिन मुस्किल छ। तर, असम्भव छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।