गलकोट- देशभर होलीको रौनक कायम छ। युवायुवती ‘ह्यापी होली–ह्याप्पी होली’ भरिहेका बेला बागलुङ सदरमुकाम बागलुङ बजारमा ३ सय वर्ष पुरानो फागु गीत गाउँदा छुट्टै रौनकता छायो।
मजाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो....
औँला काटी कलम बनावे रगतके मसिया बनावे... यै हो....
हाय हाय रगत के मसिया बनावे सखियाँ । धड्कन लाग्यो छाती हो....
मजाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो....
होलीका अवसरमा बुधबार बागलुङ बजारमा गाइएको यही ऐतिहासिक फागु गीतले युवायुवतीदेखि वृद्धवृद्धासम्मको ध्यान तान्यो। परम्परालाई संस्थागत गर्ने उद्देश्यले ‘नेपाल भाषा मङ्का खल’को आयोजनामा बागलुङ बजारमा ३ सय वर्ष पुरानो फागु गीत गाइएको हो।
होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको समयमा मौलिक पहिचान दिने पुरानो फागु गीत गाउँदा युवायुवती आश्चर्यमा परे। नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा लिपिबद्ध छ।
'फागु गीतमा बलि राजा, विष्णु, महादेव, गणेश, लक्ष्मण, दशरथ, भीमसेन र इन्द्रै जो आए पनि फागुको मजा लिन्छाैं, फागुको राग लिन्छौँ, गाउँछौँ', महिला पुरुषबीचको मायाप्रेम, कृष्ण र गोपीनीबीचका माया पिरतिलगायतका भाव गीतमा समावेस गरिएको छ', नेपाल भाषा मङ्का खल बागलुङका सल्लाहकार महेशचन्द्र प्रधानले बताए।
'हामीले संस्कृतिको प्रवर्द्धन गर्न होलीका अवसरमा निकै पुरानो फागु गीत गाउँदै आएका हाैं', उनले भने, 'मनका भावनालाई वसन्त राग शैलीमा रंग्याउने गीत नै फागु गीत हो।' केही वर्षअघिसम्म शहरबजार र गाउँघरमा फागु पूर्णिमा भनेर बोलिने रङ र आत्मीयताको पर्वमा परम्परागत महिमा र रौनक हराउँदै गएकोप्रति बागलुङको नेवार समुदाय चिन्तित छ।
फागु पूर्णिमाको मौलिकता हराउँदै गएपछि यहाँको नेवार समुदाय एकजुट भएर होली पूर्णिमाको दिन फागु गीत गाउँदै आएको नेपाल भाषा मङ्का खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए। 'फागु पूर्णिमाको मौलिकता जोगाउनु हामी सबैको दायित्व हो', उनले भने। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।