टुरिन– क्रिस्टियानो रोनाल्डोले सानदार ह्याट्रिक गरेपछि इटालियन महारथी क्लब युभेन्ट्सले युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान पक्का गरेको छ।
मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा रोनाल्डोले एट्लेटिकोविरुद्ध ह्याट्रिक गरेसँगै युभेन्ट्सले ३–० को जित निकाल्यो। यसअघि भएको पहिलो लेगमा २–० ले पराजित भएको युभेन्ट्स समग्रमा ३–२ को नतिजासहित क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
अन्तिम आठमा पुग्न ३ गोल चाहिएको अवस्थामा युभेन्ट्सका लागि खेलको २७ मिनेटमा रोनाल्डोले पहिलो गोल गरे। दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा रोनाल्डोले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका थिए। ८६ मिनेटमा युभेन्ट्सले पेनाल्टीको अवसर पायो। प्राप्त अवसरमा रोनाल्डोले गोल गरेर ह्याट्रिक मात्र पूरा गरेनन् युभेन्ट्सलाई क्वार्टरफाइनलको यात्रा गराए।

च्याम्पियन्स लिगमा रोनाल्डोको यो १ सय २४औं गोल हो भने आठौं ह्याट्रिक हो। च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड बनाएका रोनाल्डोले ह्याट्रिकको रेकर्ड पनि बराबरी गरे। रोनाल्डोले स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीको नाममा सर्वाधिक ८ ह्याट्रिक रेकर्ड बराबरी गरेका हुन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।