काठमाडौं- पाँचौ महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले स्वभाविक नजिता निकाल्न नसकेको प्रशिक्षक हरि खड्काले बताएका छन्। यद्यपि खड्काले समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई हराएर समूह विजेता बन्ने दाबी गरेका छन्।
समूह 'ए' मा रहेको नेपालले मंगलबार भुटानमाथि ३-० को जित निकाल्यो। खेलमा नेपालले पाएका दर्जन अवसर सदुपयोग गर्न सकेन।
'पाएका अवसर सदुपयोग गर्न सकेनौं। खेलाडी थालेका पाएँ। पहिलो हाफमा गर्मीका कारण थाकेको हुन सक्छ। समग्रमा भन्दा पाएको अवसर खेर फाल्नु हाम्रो कमजोरी रह्यो,' प्रशिक्षक खड्काले खेलपछि प्रतिक्रिया दिए।
उनले खेलमा कम्तिमा ६ गोल गर्ने लक्ष्य राखेको बताए। 'कम्तिमा ६ गोल हुन्छ भन्ने लागेको थियो,' उनले भने, 'कमजोर टिमसँग समूह चरणमा बढी गोल हान्दा फाइदा हुन्छ भनेर डिफेन्डरलाई निकालेर फरवार्डलाई छिराएको हुँ।' भुटानविरुद्ध दोस्रो हाफमा डिफेन्डर अमृता जैसीको स्थानमा फरवार्ड रेखा पौडेल मैदान छिरेकी थिइन्।

अब नेपालले दोस्रो खेलमा २ चैतमा बंगलादेशसँग खेल्नेछ। सो खेलमा जित निकाले नेपाल समूह विजेता बनेर सेमिफाइनल पुग्नेछ।
भुटानविरुद्ध सोचेको जस्तो खेल्न नसक्नुको असर बंगलादेशको खेलमा नपर्ने खड्काको तर्क छ। 'प्रदर्शन भनेको एकैनासको हुन सक्दैन। जस्तो टिम त्यस्तै प्रदर्शन हुने गर्छ। पहिलो खेलको भएकाले भुटानले राम्रो खेलको भन्नु पर्छ,' उनले भने।
बंगलादेशले नेपालसँग खेल्नुअघि भुटानसँग खेल्दैछ। त्यसलै बंगलादेशको खेल हेरेर रणनीति बनाउने खड्काले बताए। उनले भने,'अन्तिम खेलअघि बंगलादेश विरुद्धको खेल भएकाले हामीलाई फाइदा छ। उनीहरुको बलियो र कमजोर पक्ष केलाउनु पाउँछु। त्यसपछि हामी रणनीति बनाउँछौं।
उनले अन्तिम खेल जितका लागि खेल्ने बताउँदै भने, 'बंगलादेशलाई हराएर समूह विजेता बन्ने हाम्रो लक्ष्य हो।'
६ देशले भाग लिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसहित बङ्गलादेश र भुटान छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।