प्युठान- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकारले सिके राउतसँग गरेको सम्झौताका बारेमा स्पष्ट पार्न नसकेको बताएका छन्।
नेपाल प्रेस युनियन, प्युठानले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले राउतसँगको सम्झौताका विषयमा उठेका प्रश्नको निवारण सरकारले गर्न नसकेको बताए। उनले भने, ‘सिंके राउतसँगको सम्झौताको विषय राष्ट्रिय अखण्डतासँग जोडिएको विषय हो। सम्झौता लगत्तै सिके राउतका सर्मथकले स्वतन्त्र मधेश र जनमत संग्रहको नारा लगाएका छन्। सरकारले पनि सम्झौताका बारेमा स्पष्टीकरण दिएको छ। तर, सरकारले आम जनतालाई चित्त बुझ्ने स्पष्टिकरण दिन सकेको छैन।’
महामन्त्री कोइरालाले वर्तमान सरकार अकर्मण्य बनेको बताए। दुई तिहाई बहुमतको सरकार अकर्मण्यतामा अल्झनु दुर्भाग्यपूण रहेको महामन्त्री कोइरालाको भनाइ थियो। उनले मुलुकमा समृद्धि र विकासको गति तीव्र रुपमा अगाडि बढाउनुपर्ने बेलामा सरकार केही गर्नै नसक्ने गरी अल्मलिएको बताए।
महामन्त्री कोइरालाले नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेको बताउँदै वर्तमान नेतृत्वले आम कार्यकर्तालाई न्याय गर्न नसकेको दाबी गरे। कोइरालाले नेतृत्वका लागि कुन थर कुन जातभन्दा पनि पार्टी भित्र विपी कोइरालाको विचार कसले बोक्छ भनेर कार्यकर्ताले हेर्नुपर्ने बताए। उनले भने, ‘कोइराला परिवारका हामी एकै साथ छौं। तर, पार्टीको नेतृत्वको लागि विपीको रगतभन्दा पनि विपीको विचार महत्वपूर्ण हो। कांग्रेसमा विपीको विचार अगाडि बढाउन सक्ने सबै कांग्रेस नेता कार्यकर्ताले कांग्रेसलाई नेतृत्व दिन सक्छन्।’
पत्रकारहरुले १४औं महाधिवेशनमा उम्मेदवारीका बारेमा सोधेको प्रश्नमा कोइरालाले समय बाँकी रहेको र आम नेता कार्यकर्ताहरुसँग छलफल गरेर उम्मेदवारी तय गर्ने बताउँदै सभापतिको उम्मेदवार बन्ने संकेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।