राजविराज– नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले न्यायपालिका सरकारको सेटिङमा चल्न थालेको आरोप लगाएका छन्।
नेपाल प्रेस सोसाइटी सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले कार्यपालिकाको लाचार छायाँ न्यायपालिका र व्यवस्थापिकामा पर्नु दुःखद भएको तर्क गरे।
छिन्नमस्ता गाउँपालिकाको पहिलो गाउँसभा उद्घाटन गर्न उनी सोमवार सप्तरी आएका हुन् ।
थारु विद्रोहका कारण मुद्दा खेपिरहेका रेशम चौधरी र राज्य विप्लवको मुद्दा खेपिरहेका सिके राउत प्रकरणलाई जोड्दै उनले भने, ‘लोकतन्त्रमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र हुन्छन्। तर, नेपालको सन्दर्भमा कार्यपालिकाको लाचार छायाँ न्यायपालिका र व्यवस्थापिका परिरहेको छ।’
चौधरी र राउत प्रकरणमा सरकारको दोहोरो नीति देखिएको भट्टराईले दाबी गरे। ‘अदातलाई प्रभावमा पारेर एकातर्फ सिके राउतलाई जेल मुक्त गर्ने र अर्कोतर्फ त्यसको उल्टो रेशम चौधरीसहित ११ जनालाई आजीवन काराबासको सजाय सुनाउने सरकारको नीति अशोभनीय छ।’
मान्छे मर्नु दुःखद भए पनि कैलाली घटना राजिनीतिक विद्रोहको क्रममा भएकाले रारजनितिक ढंगबाटै समस्याको समाधान खोज्नुपर्ने उनको तर्क छ। तर, सरकारले चलखेल गरेर रेशम चौधरीसहितका ११ जना थारु युवाहरुलाई आजीवन कारावासको सजाय सुनाएकोमा उनले आपत्ति जनाए। ‘राजनीतिक विद्रोह गर्ने थारु युवालाई आजीवन कारावास पठाउने अनि पृथकतावादको आरोपमा राज्य विप्लवको मुद्दा खेपिरहेका राउतलाई चाहिँ मिलेमतो गरेर सम्झौता गर्ने यदि हो भने यो गम्भीर विषय हुन्छ,’ उनले भने ।
सरकार काण्डै–काण्डमा फस्यो
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सरकार काण्डैकाण्डमा फसेको र भ्रष्टाचारलाई चरम सीमामा पुर्याएको आरोप लगाए।
‘यो सरकार सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने विषयमा संवेदनशील हुनुपर्थ्यो,’ उनले भने, ‘तर, त्यसको उल्टो वाइडबडी काण्ड, बुढीगण्डकी काण्ड, एनसेल काण्ड, सुन काण्ड, निर्मला हत्या काण्ड लगायतका काण्डैकाण्डमा सरकार फस्यो।'
दुई तिहाइको सरकारले एक वर्ष बित्दा पनि संविधानका अपूर्णतालाई सम्बोधन गरी संविधान संशोधन गर्ने तथा मधेस र थारुवान क्षेत्रमा देखिएका असन्तुष्टिहरुलाई सम्बोधन गर्ने विषयमा काम गर्न नसकेको बताए। उनले थपे, ‘त्यसले गर्दा जनतामा विश्वासको वातावरण बनेन।’
आर्थिक रुपमा विकासले गति लिन नसकेको, व्यापार घाटा बढेको र विदेशी लगानी घटेको भन्दै उनले समग्रमा देश उल्टो दिशातर्फ गइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।