बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सिके राउतसँग सरकारले गरेको सहमतिले देशलाई कालान्तरमा दुर्घटनामा फसाउने दाबी गरेका छन्।
‘दस्तावेजका बुँदाहरु सरल ढंगले लेख्न सकिन्थ्यो,' बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'लुकाएर, छिपाएर, छलछाम, जालझेल र अमूर्त ढंगले लेखिएको छ।’
मधेसमा सिके राउत पुग्दा नाराबाजीसहित फ्रि मधेसको झन्डा प्रयोग हुँदा पनि सरकार मूकदर्शक बनेको भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले स्वतन्त्र मधेस गठबन्धनलाई सरकारले बढी सम्मान गरेको प्रति आपत्ति जनाए।
सरकारले विखण्डनलाई स्वीकार गरेर सहमति गरेकोमा आपत्ति जनाउँदै उनले कसको शक्ति र प्रेरणाले सहमति भयो भन्दै प्रतिप्रश्न गरे।
‘देशमा सानै भए पनि विखण्डनकारी तत्व सल्बलाए,' उनले भने, 'तत्कालीन माओवादी पनि सानै थियो, यो मुद्दा बेलैमा नटुंग्याए कालान्तरमा द्वन्द्व निम्तिन सक्छ।'
नेपाल हिन्दु राष्ट्र बनाइछाड्ने भन्दै थापाले हिन्दु राज्यको पक्षमा देशभर जनलहर बढेको समेत दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।