बुटवल- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले राष्ट्रिय अखण्डतामाथि नै प्रहार गरेका बताएका छन्। उनले सिके राउतसँग सरकारले गरेको सम्झौतामा जनमत संग्रहको कुरा गरेर राष्ट्रियताको बारेमा सरकार नै गम्भीर नभएको आरोप लगाए। ‘सरकार कति धेरै अपरिपक्व र हावा रहेछ भन्ने कुरा यही सहमतिबाट प्रष्ट भएको छ,’ उनले भने।
नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले राष्ट्रिय अखण्डतामाथि कुनै पनि आशंका हुन नहुने बताए। नेपालमा पृथकतावादी आन्दोलन सकिएको भनेर प्रधानमन्त्रीले दुष्प्रचार गरिरहेको उनको धारणा छ।
‘सत्य लुकाउन प्रधानमन्त्रीको असत्य प्रचार’
सरकारका काम कारबाहीको विषयमा धारणा राख्दै उनले वाइडबडी काण्डमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी निर्दाेष रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई उनले सत्यलाई ढाकाछोप गर्न असत्यको प्रचारप्रसार गरेको टिप्पणी गरे।
अख्तियारलाई समेत चुनौती दिने गरी आएको प्रधानमन्त्रीको अभिव्यक्ति ढाकछोप गर्ने प्रपञ्च भएको उनले आरोप लगाए। उनले छानबिन आयोगभन्दा पनि ढाकछोप आयोग बनाएर पर्दा हाल्ने काम मात्रै गरेको बताए।
सरकारले आधिकारिक रुपमा छानबिन गर्नुपर्नेमा दूधको साक्षी बिरालो जस्तै बनेको बताए। उनले प्रतिप्रश्न गर्दै भने, ‘केपी ओली अदालत हो, अख्तियार प्रमुख हो? कहीँ नभएको जात्रा हुँदै गरेको छ।’
उनले देशमा भ्रष्टाचार मैलाउँदै गएको भन्दै सुनकाण्डदेखि लिएर चिनी काण्डसम्म सरकार असफल भएको आरोप लगाए। निर्मला पन्त हत्यामा सरकारले असफलता देखाएको देखाएको बताए। घटनाको दोषीउपर कुनै पनि कामकारबाही गर्न नसक्नु लज्जाको विषय भएको नेता पौडेलको भनाइ थियो।
विप्लवसँग तत्काल वार्ता गर
सरकारले विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीलाई बेलैमा सम्बोधन गर्नुको विकल्प नभएको बताएका छन्। सरकारले अविलम्ब वार्तामा बोलाएर मागप्रति सम्बोधन गर्न पनि उनले सुझाव दिए। ‘मैले भनेको थिएँ, सर्पको खुट्टा सर्पले देख्छँ, अविलम्ब विप्लवजी सँग वार्ता गर,' नेता पौडेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।