काठमाडौं– गत शुक्रबार सरकारले ‘छुट्टै मधेस’को माग गरी पृथकतावादी गतिविधि गरिरहेका सिके राउतसँग सरकारले ११ बुँदे राजनीतिक सहमति गर्यो।
यस विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूबीचमै सामाजिक सञ्जालमा दोहोरी चलिरहेका बेला कलाकारहरुले पनि चासो व्यक्त गर्न थालेका छन्।
यसै सन्दर्भमा कलाकार दीपकराज गिरीले आफ्नो फेसबुक वालमा देशद्रोहीप्रति निर्मम हुँदै एक स्टाटस पोस्ट गरेका छन्। उनले लेखेका छन्, ‘देशले अन्याय गरेको छ भने बोलिहाल्नुपर्छ। देशै मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नुपर्छ।’ दीपकको यो स्टाटस यतिबेला सामाजिक सञ्जालमा भाइरल छ।
दीपकले अघिल्लो दिनमात्र सरकार र राउतबीचको सम्झौतालाई समर्थन गर्दै लेखेका थिए, ‘राउतलाई डाउट गरेर काम छैन अब। यहाँ ८० प्रतिशत नेताको विगत बन्दूक वा विखण्डन नै थियो...।’
तर आइतबार जनकपुरमा सिके राउतको स्वागतमा देखिएको माहोलपछि भने दीपकको स्टाटसमा यु-टर्न भयो। यसपछि उनी सिके राउतका गतिविधिप्रित निर्मम बनेको आँकलन गर्न सकिन्छ।
त्यस्तै अर्का हास्य व्यंग्य कालाकार मनोज गजुरेलले यस विषयमा ब्लग नै तयार गरेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सिके राउत सबैलाई विभिन्न व्यंग्यात्मक प्रश्न र शंका एकसाथ पोखेका छन्।
उनले लेखेका छन्,‘सरकारले सिकेलाई सघाएको हो कि, सिकेले सरकारलाई फसाएको हो कि, सिके र सरकार मिलेर दुनियाँलाई हँसाएको हो? कुरो कहानीमा अल्झिएको छ।’
ब्लगको अन्तमा उनले प्रचण्डलाई प्रश्न गर्दै लेखेका छन्, ‘सिकेले सम्झौताबाट हात झिके भने के होला पिके? यी प्रश्नको उत्तर नआउन्जेल ‘किप प्रेसरिङ टु सिके, पिके एन्ड केपी।’ जय नेपाल।
यसैगरी अर्का हास्य कलाकार केदार घिमिरे माग्ने बुढाले सरकार र राउतबीचको सम्झौतामा दुवै पक्षका आ–आफ्ना बुझाइ भएको प्रतीकात्मक कार्टुन सेयर गर्दै ‘बहुअर्थी’ शब्द पोस्ट गरेका छन्। जसले सरकार र सिके राउतको सम्झौतामा चासो राखेको बुझ्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।