काठमाडौं- गीतकार अर्जुनरत्न भिखारी र संगीतकार सुनील मास्केको गीतिसंग्रह ‘पञ्चामृत’ सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ संगीतकार शम्भूजित बास्कोटा, वरिष्ठ गायक दीप श्रेष्ठको प्रमुख आतिथ्यतामा ‘पञ्चामृत’ सार्वजनिक गरिएको हो।
संग्रहमा ‘धनले होइन मनले’, ‘जवानीको ऐना हजुर’, ‘परैदेखि’, ‘मन मनै त हो’ र ‘तिम्रा झुटा’ बोलका ५ गीत समावेश गरिएको छ।
सुरज थापा, मेलिना राई, सुरेश लामा, प्रमोद खरेल र स्वरुपराज आचार्यको स्वर, रिकेश गुरुङ, सञ्जीव बराइली तथा प्रदीप श्रेष्ठको संगीत संयोजन रहेको गीति संग्रहमा किशोर थापाको मिक्सिङ मास्टरिङ सुन्न सकिन्छ।
विमोचन कार्यक्रममा बोल्दै उपस्थित अतिथिले गीति संग्रहमा समेटिएका शब्द, संगीत तथा स्वर सबै उत्कृष्ट रहेकाले दर्शक तथा स्रोताको मन जित्न सक्ने प्रतिक्रिया दिए।
आयोजित कार्यक्रममा गीतसंगीतका त्रिवेणी वरिष्ठ तीन स्रष्टालाई गीतकार भिखारी र संगीतकार मास्केले सम्मान समेत गरेका थिए।
एल्बमलाई भाइब्स क्रिएसनले बजारमा ल्याएको एल्बममा समावेश २ गीतको म्युजिक भिडियो पनि आइतबारकै कार्यक्रममा सार्वजनिक गरियो।
सार्वजनिक भिडियोमा सुनिसा बजगाँई र गीतकार भिखारीकै अभिनय देख्न सकिन्छ।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।