जनकपुर– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विखण्डनको अभियान त्यागेर सिके राउत शान्तिपूर्ण राजनीतिमा आउनु सकारात्मक र स्वागतयोग्य रहेको बताएका छन्।
तर, सम्झौता कति इमान्दारितापूर्वक भएको हो भन्ने कुराको परीक्षण गर्नुपर्ने उनले बताए। गृहनगर जनकपुरबाट राजधानी फर्कनुअघि आइतबार संचारकर्मीसँग कुराकानी गर्दै निधिले भने,‘सम्झौता गर्नेले वास्तवमा के–का लागि र कसरी गरेको हो भन्ने देश र जनतालाई जानकारी गराउनुपर्छ। सम्झौता कति इमानदारितापूर्वक भएको हो? यसको पनि परीक्षण जरुरी छ।’
निधिले जेलबाट छुटेको भोलिपल्टै सरकार र राउतबीच सहमति हुनु भने रहस्यमय भएको बताए।
‘पाँच महिनासम्म उनी जेलमा थिए। तर, जेलबाट छुटेलगत्तै त्यसको भोलिपल्ट सरकारसँग सम्झौता हुनु आफैंमा रहस्यमय हो,’ उनले भने,‘अदालतबाट राउत छुट्दैछन् भन्ने कुरा सरकारलाई कसरी जानकारी भयो? यदि, जानकारी भएरै भित्रबाट काम भइरहेको थियो भने यसको मतलब यो पनि हुन्छ कि शक्तिपृथकिरणको सिद्धान्त विपरीत अदालत सरकारको प्रभावमा छ वा सरकार अदालतको प्रभावमा छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।