जनकपुर– सरकारसँग सम्झौता गको दुई दिनपछि सिके राउत मधेश झरेका छन्। उनी सरकारसँगको सम्झौतापछि जनकपुरधाम पुगेका हुन्।
जनकपुर पुग्दा राउतलाई सर्मथकहरुले भब्य स्वागत गरेका छन्। स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउतको स्वागतमा पुगेका उनका सर्मथकहरूले जनकपुरधाममा जनमत संग्रह र स्वतन्त्र मधेसको नारा लगाएका छन्।
सरकारले आज पनि जनमत संग्रहको सम्झौता नगरेको भनिरहेको अवस्थामा राउतका सर्मथकले भने प्ले कार्ड र ब्यानर समेत बोकेका थिए। रौतहट जानका लागि जनकपुरधाम विमानस्थल पुगेका राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरूले आइतबार नाराबाजी गरेका हुन्।

बिहीबार अदालतको आदेशबाट रिहा भएपछि शुक्रबार सरकारसँग राउतले नेपालको अखण्डता तथा सार्वभौमिकतामा आँच आउने कुनै क्रियाकलाप नगर्ने सम्झौता गरेका थिए।
सम्झौता भएको दुई दिन नबित्दै गठबन्धनका कार्यकर्ताहरू जनकपुरधाम विमानस्थललाई अघोषित रूपमा कब्जामा लिई स्वतन्त्र मधेसको नारा लगाएका थिए।
राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरू विमानस्थललाई चारैतर्फबाट घेरा हालेका थिए।
निजी सुरक्षा गार्डका साथै विमानस्थलबाट निस्केलगत्तै सयौं कार्यकर्ताहरूसँगै राउतले जनकपुरधाम नगरको परिक्रमा समेत गरेका थिए।
डा राउतको समाचार संकलन गर्न जनकपुर एयरपोर्टमा पुगेका पत्रकारमाथि उनका कार्यकर्ताद्वारा दुर्व्यवहार गरेका थिए।
को हुन् राउत ?
सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकाकाे नासामा वैज्ञानिकका रूपमा कार्यरत थिए। सन् २०११ को अन्त्यतिर राजीनामा दिई मधेसलाई स्वतन्त्र पार्ने मुद्दा लिइ उनी नेपाल फर्किएका थिए।
युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल जस्ता सम्मानबाट उनी विभूषित भइसकेका छन्। उनी अमेरिकामा दर्ता र मधेसी हक हितका लागि अन्तर्राष्ट्रिय गैरआवासीय मधेसी संघका संस्थापक अध्यक्षसमेत भइसकेका छन्।
पहिलो पटक इन्जिनियरिङ पढ्न काठमाडौं आउँदा ऋतिकरोसन कान्ड भएको थियो भने जापानबाट फर्केका बेला इराकको आतंकवादी संस्थाले नेपालीको हत्या गरेपछि काठमाडौंमा दंगा भड्किएको थियो । दुवै घटनालाई उनले मधेसीमाथि भएको दमन मानेर स्वतन्त्र मधेसका लागि आन्दोलनमा होमिए।
उनको मधेसको इतिहास र वर्तमान अवस्थाबारे दर्जनौं पुस्तक र लेख रचना प्रकाशित छ।
मधेसलाई स्वतन्त्र पार्न गठबन्धन सन् २००६ को अगस्तमा भएको मधेस आन्दोलनकै क्रममा घर आएको बेला उनीसहितको समूहले स्वतन्त्र मधेसको अर्को कुनै विकल्प नभएको निष्कर्ष निकाल्दै ‘मधेस अधिकार एवं स्वतन्त्रता गठबन्धन’ अर्थात ‘एलायन्स फर राइट्स एन्ड इन्डिपेन्डेन्स् अफ मधेस’ (ARIM) को स्थापना गर्यो।
एआरआइएमको मूल नारा नै ‘नेपाली उपनिवेश र रंगभेदको अन्त्य, मधेसीको समोचित अधिकार र स्वतन्त्रता प्राप्ति र गणतान्त्रिक मधेसको स्थापना’ थियो। त्यसको आफ्नै झन्डा र राष्ट्रगानसमेत तयार भयो।
मधेसवादी दलसँग आफ्नो एजेन्डा लिएर पटक पटक सहकार्यमा जान खोजे पनि बाटो नमिलेपछि एक्लै द्वन्द्वमा उत्रिएर आफ्ना मुद्दा मधेसमा विस्तार गर्दै आएका थिए। राउतले गरेको सम्झौताको सार जे भए पनि तराई–मधेसमा उनको सम्झौतालाई आत्मसमर्पणका रुपमा मधेसी जनताले लिएका छन्।
राजनीतिक मूलधारमा जानु सही हो तर विखण्डनकारीको नारा दिई जनतालाई भ्रमित पार्नु पनि गलत हो भन्ने उनीहरूको धारणा छ।
राष्ट्रिय अखण्डता कायम राख्न द्वन्द्वको बाटो छाडेर राजनीतिक मूलधारबाट समस्याको समाधान खोज्नु उचित हुनेछ तर चर्को नारा दिई जनतालाई भ्रममा पारेर उत्तेजना फैलाउनु गलत रहेको मधेसी जनताको ठम्याइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।