काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले पृथकतावादको नारा लिएको स्वतन्त्र मधेस गठबन्धनसँग भएको सहमति सकारात्मक भएपनि मिलेमतो भएको हुन सक्ने आशंका गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् थापाले सहमतिको पृष्ठभूमि र शैलीले अदालत र सरकारबीच कतै मिलेमतो त चलिरहेको त छैन भन्ने गम्भीर प्रश्न उठाएको भन्दै सहमतिबारे सदनमा छलफल गर्न माग गरेका थिए।
यसैगरी अन्य सांसदहरुले पनि छुट्टै मधेशको माग गर्दै आएको सिके राउतसँग सरकारले गरेको सहमतिका विषयमा सदनमा स्पष्ट पार्न ध्यानाकर्षण गराएका थिए। सांसदहरुले स्वतन्त्र मधेस गठबन्धनसंग सरकारले गरेको सहमतिले राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि गम्भीर प्रश्न उब्जाएको बताए। यसबारे सदनमा स्पष्ट पार्न सांसदहरुले माग गरेका हुन्।
बैठकको विशेष र शून्य समयमा बोल्दै सत्तारुढ दलकै सांसदहरुले पनि सरकार र गठबन्धनबीच भएको राजनीतिक सहमतिबारे सदनलाई स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराए।
सांसद भीम रावले सरकारले सिके राउतसँग गरेको सहमति संविधान विपरीत भएको भन्दै सहमतिमा भएको त्रुटि सच्याउन माग गरे।
उनले सिके राउतले नेपालको संविधान विपरीतका क्रियाकलाप गरेकाले अब नेपालको संविधानलाई आत्मसाथ गरेर नेपालको स्वाधिनता र अखण्डता अनुरुप शान्तिपुर्ण प्रतिष्पर्धामा जान तयार भएको पुरक बक्तव्य दिनुपर्ने दाबी गरे।
सांसद डा मिनेन्द्र रिजालले सिके राउतसँग गरिएको सम्झौताको बुँदा नम्बर २ विवादास्पद भएको भन्दै त्यसबारे सरकारले त्यसबारे सदनलाई स्पष्ट पार्नुपर्ने बताए।
सांसद राजेन्द्र प्रसाद लिङ्देनले नेपाल सरकारसंगको सहमतिलाई सिके राउतले जनमतसंग्रह गर्न सरकार तयार रहेको भनी प्रचार गरिरहेको भन्दै त्यसबारे सरकारको जवाफ माग गरे।
उनले सिके राउतको समूहलाई राजनीतिक शक्तिको रुपमा मान्न सरकार तयार भएको हो भनी प्रश्न गरेका थिए।
सांसद प्रेम सुवालले सिके राउतसंगको सहमति विदेशी दबाबमा भएको र नेपाल भारतको रणनीतिको चंगुलमा फसेको चर्चा चलेको भन्दै सरकारले सहमतिबारे सदनमा स्पष्ट पार्नुपर्ने माग गरेका थिए।
सांसद महेश बस्नेतले सहमतिको २ नम्बर बुँदामा लेखिएको जनअभिमत भनेको आवधिक निर्वाचन भएको भन्दै कुव्याख्या नगर्न आग्रह गरे।
उनले सरकार र सिके साउतसँग भएको सहमतिको डलर खेती गर्ने र सेलिब्रेटी राष्ट्रवादीहरुले मात्रै विरोध गरेको भन्दै सरकारको निर्णयको बचाउ गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।