जनकपुर- बैसाख १ अर्थात नयाँ वर्षदेखि देशकाे एक मात्र रेल सेवा 'जनकपुर-जयनगर रेल्वे' सञ्चालन हुने भएको छ। रेल सञ्चालनको तयारीमा रहेको रेल विभागले रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया समेत सुरु गरेको छ।
पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम सुरु गरेको हो। त्यस्तै रेल सञ्चालनका लागी आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि सुरु गरेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।
सो रुटमा निर्माण हुने ७ वटा स्टेसनका लागि आवश्यक १ सय ५० कर्मचारीको छनोट प्रक्रिया सुरु भएको र केही दिनमै उनीहरुको छनोट सकिने मिश्रको भनाइ छ। महानिर्देशक मिश्रले सातै वटा स्टेसनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा ७ देखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको मिश्रले जनाए।
मुख्य स्टेसनमा भने केही बढी कर्मचारी आवश्यक हुनाले सोही अनुसारको कार्यविधि निर्माणमा आफूहरु लागि परेको मिश्रको भनाइ छ। कुर्था र खजुरी लगायतका केहि स्टेसनमा बढी कर्मचारी आवश्यक भएकाले आवश्यकताअनुसार कर्मचारी परिचालन गर्ने उनले बताए।
विभागले सो रुटमा रेल सञ्चालनका लागि भारतबाट २ वटा रेल खरिद गर्ने जनाएको छ। रेल खरिदको प्रक्रियापनि अन्तिम चरणमा पुगिसकेको मिश्रले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।