कार्बोहाइड्रेट हामीले खाने खानाको एउटा अभिन्न अंग हो । हामीलाई चाहिने जम्मा क्यालोरीको ४० देखि ६५ प्रतिशत आवश्यकता कार्बोहाइड्र्ेटले पूर्ति गर्छ । मूलतः कार्बोहाइड्रेटले हाम्रो शरीरमा उर्जा प्रदान गर्छ । तपाईंहरुले विचार गर्नुभएको होला, खाना नखाएको वा धेरैबेरसम्म भोको रहेको अवस्थामा शरीरमा तागत नभएको अनुभव हुन्छ । त्यसैले उर्जा शरीरको आवश्यकता हो, जुन कार्बोहाइड्रेटले पूरा गर्छ ।
कार्बोहाइड्रेट सिम्पल र कम्प्लेक्स गरी दुई थरिका हुन्छन् । सिम्पल कार्बोहाइड्रेटमा मोनोस्याकराइड र डाइस्याकराइड पर्छन् । चिनी या टेबलसुगर सिम्पल कार्बोहाइड्रेटका उदाहरण हुन् । ग्ुलकोज, फ्रुकटोज, र ग्ल्याल्याक्टोज मोनोस्याकराइड हुन्, जुन शरीरले सिधैं उपयोगमा ल्याउँछ । तर, ल्याक्टोज, सुक्रोज र माल्टोज डाइस्याकराइडका उदाहरण हुन् । सुक्रोज प्राकृतिक रुपमा विभिन्न फलफूल, तरकारी तथा ग्रेनहरुमा पाइन्छ ।
फाइबर वा सेल्युलोज र स्टार्च कम्प्लेक्स कार्बोहाइड्रेट हुन्, जुन ग्रेन, आलु तथा लेग्युम्जमा पाइन्छन् । फाइबरबाहेक सबै प्रकारका कार्बोहाइड्रेटहरु शरीरमा मोनोस्याकराइडमा परिणत हुन्छन् । जुन अन्त्यमा सिम्पल सुगरमा बदलिएर रगतमा पुग्छ । मोनोस्याकराइड वा सिम्पल सुगर जस्तै, ग्लुकोज, फ्रुकटोज र ग्याल्याक्टोज फलफूल र महमा पाइन्छ ।
सुक्रोज सामान्यतया सबै फलफूलमा पाइन्छ । तर, बढी मात्रामा उखु र आँपमा र तरकारीमध्ये केही कन्दमूलमा बढी पाइन्छ भने ल्याक्टोज दूधमा पनि पाइन्छ ।
एक ग्राम कार्बोहाइड्रेटले चार क्यालोरी उर्जा प्रदान गर्छ । फाइबर वा सेल्युलोज फलफूल तथा तरकारीका बाहिरी भागमा प्रशस्त पाइन्छन् । यो नघुलिने हुन्छ तथा सजिलैसंग पच्दैन । तसर्थ शरीरमा धेरैबेरसम्म बसेर एक किसिमको अघाएको अनुभव प्रदान गर्छ । साथै फाइबरले दिसाको मात्रा बढाई पाचनप्रणालीको विकार फ्याँक्दै, पाचन प्रक्रियामा समेत टेवा पु¥याउँछ ।
तर, कृत्रिम रुपमा तयार पारिएको पेयमा पाइने रिफाइन्ड सुगर, जसलाई ‘इम्प्टी सुगर’ पनि भनिन्छ , त्यसले शरीरमा तुरुन्तै सुगरको वा चिनीको मात्रा बढाउँने भएकाले यसलाई ‘ग्लाईसिमिक इन्डेक्स’ धेरै भएको खाद्यपदार्थ मानिन्छ र यसले शरीरमा मधुमेहलगायत अन्य रोग निम्त्याएर हानी नै पु¥याउँछ ।
ओटमिल, पास्टा, होल ह्विट, ओट ब्रान, बार्ली, सलगम, सखरखण्ड, लेग्यूम्ज, गाँजर तथा धेरै अन्य फलफूलको ग्लाइसिमिक इन्डेक्स कम हुन्छ । तसर्थ यी असल कार्बोहाइड्रेटका उदाहरण हुन् ।
यस्तै, सेतो पाउरोटी, सबै प्रकारका कृत्रिम पेय पदार्थ, गुलियो पारिएको दही तथा दुधका अन्य कृत्रिम रुपले तयार पारिएका परिकार आदिमा र प्रायः फ्रोजन वा इन्स्ट्यान्ट भनिएका ओटमिल आदि, कुकिज, सेतो चामल, टेबल सुगरमा ग्लाइसिमिक इन्डेक्स ज्यादा हुन्छ । र यी, खराब कार्बोहाइड्रेटका उदाहरण हुन् ।
कार्बोहाइड्रेट खाएपछि शरीरमा इन्सुलिन पैदा हुन्छ, जसले त्यो कार्बोहाइड्रे्टलाई मांसपेशी तथा अन्य कोषिकामा उर्जा उत्पादन तथा प्रयोगका लागि पठाइदिन्छ । र अन्तमा रगतमा सुगरको मात्रा कम हुन्छ । तर, शरीरमा सुगर बढेको अवस्थामा केही क्षण सेरोटोनिन नामक न्यूरोट्रान्समिटर पनि बढ्छ र मुड राम्रो भएको अनुभव हुन्छ ।
तसर्थ, कार्बोहाइड्रेटप्रधान खाना, स्न्याक्स इत्यादि खान मन लाग्ने वा तलतलको अवस्था तथा प्रोसेस्ड तथा रिफाइन्ड फुड वा फास्टफुडको लतलाई ‘कार्बोहाइड्रेट क्रेभिङ’ भनिन्छ । र यो एउटा इमोसनल समस्या पनि हो ।
केही वैज्ञानिकअनुसन्धानले त सेरोटोनिन कम हुने व्यक्तिमा यो समस्या बढी हुने देखाएका छन् । तर, प्रोसेस्ड फुड वा ग्लाइसिमिक इन्डेक्स धेरै भएका खाना त्यस्ता खराब कार्बोहाइड्रेट हुन् जसको निरन्तर प्रयोगले शरीरमा अनवरत रुपमा इन्सुलिन पैदा भई पछि गएर इन्सुलिन रेसिस्टेन्सको अवस्था आउन सक्छ, जुन टाइप टु डाइबिटिज, मेटाबोलिक सिन्ड्रोम तथा त्यसबाट निम्तने अन्य समस्या मोटोपन तथा हृदयाघात वा मुटुको अन्य समस्याको प्रमुख कारणसमेत हो ।
यो समस्या हटाउँन ग्लाइसिमिक इन्डेक्स कम भएको खाना जस्तै, ताजा फलफुल तथा गाढा हरियो तरकारी र साग, प्रोटिनयुक्त स्न्याक्स जस्तै, नट तथा ट्राउट, साल्मन प्रजातिका माछा र हाइ बोइल्ड अण्डाको सेवन गर्नुपर्छ । प्रोटिन धेरैबेरसम्म हाम्रो पाचनप्रणालीमा रहने भएकाले यसले अघाएको अनुभूतिसमेत दिन्छ र कार्बोहाइड्रेटको ‘क्रेभिङ’ हटाइदिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।