राजेश २५ वर्षे विद्यार्थी हुन् । उनले गाउँमा आफ्नै अगाडि एउटा मानिस गोली लागेर मरेको देखेका रहेछन् । त्यो घटनापछि उनलाई एक्कासी डरलाग्ने, जिउ सिरिङ्ग हुने, हात काम्ने, मुटुको धड्कन बढ्ने र नयाँ मानिस देख्दा पनि तर्सने हुन्छ । उनी आफूलाई सम्हाल्न खोज्छन् तर सक्दैनन् । ‘कसैले मार्छ कि’ भन्ने डर पनि निकै लाग्छ उनलाई । निद्रा पर्दैन, टाउको दुख्छ, छटपटी लाग्छ र सपना पनि डरलाग्दा देख्छन् ।
यसरी डराउनु भनेको मानसिक समस्या हो । यस्तो समस्यामा मानिस हरेक कुरासँग निकै डराउँछ । केही कुरादेखि थोरै डराउनु सामान्य हो । डरकै कारण मानिस सचेत र जिम्मेवार बन्छ । तर, डर जब समस्यामा बदलिन्छ त्यसले जीवन अस्तव्यस्त बनाउँछ । उनीहरू जे कारणले डराएका हुन् त्यसबाट टाढै रहन खोज्छन् । तर, आत्तिनु पर्दैन, उपचार गरे यस्तो समस्याबाट पूर्णरूपमा छुटकारा पाउन सकिन्छ ।
यस्तो समस्यालाई ‘फोबिया’ भनिन्छ । यसको उपचार मनोवैज्ञानिक (साइकोथेरापी) उपाचार पद्धतिबाट गरिन्छ । यस पद्धतिमा विभिन्न तरिकाबाट बिरामीलाई डराउने बस्तुसँग नजिक लगी उसको सहन सक्ने क्षमता बढाउँदै लगिन्छ । जस्तैः कोही मानिस कुकुरदेखि डराउँछ भने पहिला उसलाई कुकुरबारे भिडियो देखाइन्छ । बिरामीलाई टाढा राखी भिडियो देखाउँदै क्रमशः नजिक लग्दै गइन्छ । त्यसपछि उसलाई कुकुरकै अगाडि राखिन्छ । यसबीचमा आत्मबल बढाउन बिरामीलाई आराम पनि गराइन्छ । यसरी कुकरप्रतिको उसको डर हटाउन सकिन्छ ।
डर हटाउने अर्काे तरिकामा, बिरामीलाई पहिला नै अत्यन्तै डर लाग्ने अवस्था सृजना गराइन्छ । त्यसपछि सामान्य अवस्थामा उसको डर कम हुँदै जान्छ । यसरी निको भएन भने बिरामीलाई विभिन्न औषधि पनि दिइन्छ । यस्ता बिरामीले निदाउन वा डर हटाउने बहानामा रक्सी सेवन गर्नु हँुदैन ।
लक्षणः
– बारम्बार आत्तिने,
– कुनै अप्रिय घटना होला भन्ने डर,
– हात–खुट्टा काम्ने,
– ढुकढुकी बढ्ने,
– मरिएला कि भन्ने डर,
– टाउको दुख्ने,
– निद्रा नलाग्ने,
– छटपटी हुने,
– मुख सुख्खा हुने,
– पटक–पटक दिशा–पिसाब लाग्ने,
– नराम्रो सपना देखिने,
– निद्रामा डराउने ।
गर्न नहुने
– अनावश्यक कुरामा नएकोहोरिने,
– मनमा कुरा नखेलाउने,
– दुःखी नबन्ने,
– अन्धविश्वास नगर्ने,
– मिहेनत गर्न नछाड्ने,
– लागू पदार्थ, रक्सी वा चुरोट नखाने,
– अल्छी नबन्ने,
– चिन्ता नलिने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।