राजविराज– सप्तरीको राजविराज विमानस्थल इँटा भट्टाका कारण खतरा परेको छ। शिलान्यास भएको झण्डै ६ दशकपछि गत असार १ गतेदेखि सञ्चालनमा आएको उक्त विमानस्थल अहिले पनि असुरक्षित रहेको त्यहाँका कर्मचारीले बताएका छन्।
तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलबाट औपचारिक रुपमा विमान सेवाको उद्घाटन गरेका थिए।
साताको ५ दिन सेवा दिने वाचा गरेको श्री एयरलायन्सले प्राविधिक समस्या देखाउँदै सेवालाई तीन दिनमा सीमित गरेको छ।
विमानमा खराबी आएको बताए पनि विमानस्थलमा देखिएको समस्याकै कारण श्री एयरलाइन्सले सेवा कटौती गरेको जानकारहरू बताउँछन्।
विमानस्थलको पूर्वतर्फ रहेका इँटा भट्टा विमान सञ्चालनमा चुनौती बनेको राजविराज नागरिक उड्डयन कार्यालयका प्रमुख भीमदत्त पन्त बताउँछन्।
त्यसमध्ये पनि ७ सय मिटरकै दुरीमा रहेका ४ वटा चिम्नीका कारण विमान सेवा सञ्चालनमा गम्भीर समस्या देखिएको उनले बताए।
हिमाल, किसान, माँ दुर्गा र माँ काली इँटा भट्टाको ९० फिटसम्मका चिम्निकै कारण विमान उडान र अवतरणमा प्रत्यक्ष प्रभाव परिरहेको र जोखिम मोलेर सेवा सञ्चालन भइरहेको पन्तले जानकारी दिए।
‘राजविराज विमानस्थललाई सुरक्षित बनाउन इँटाभट्टाका चिम्निलाई औसत ४० देखि ४५ फिटभन्दा कम गर्नु आवश्यक छ,’ पन्तले भने, ‘तर, यस विषयमा अन्य सम्बन्धित निकायले पनि चासो नदिएपछि हामी पनि चपु लागेर बस्नु परेको छ।’
जिल्ला प्रशासन कार्यालय, इटहरी विष्णुपुर गाउँपालिका, नेपाल नागरिक उड्डयन प्राधिकरण र संघीय सरकार समेतलाई पटक–पटक जानकारी गराइको बताएका उनले चिम्नि हटाउने वा घटाउने विषयमा कसैले पनि वास्ता नगरेको गुनासो गरे।

सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले भने चिम्निका विषयमा तथ्यगत जानकारी नदिएका कारण साे विषयमा प्रक्रिया अघि नबढेको बताए।
‘कुन–कुन चिम्नि हटाउने र कुन घटाउने यकिन गरेर सोहीअनुरुप अघि बढ्ने सहमति भएको थियो। सम्बन्धित इँटाभट्टा मालिकलाई बोलाएर मैले कुरा पनि गरेको थिएँ,’ पौडेलले भने, ‘तर, सुरक्षा महाशाखाको टोलीमार्फत तथ्यगत रिपोर्ट तयार गरेर अघि बढ्ने सहमति गरेको प्राधिकरणले पुनः प्रक्रिया अघि बढाएन।’
प्राधिकरणले यकिनका साथ हटाउनु वा घटाउनु पर्ने चिम्निको बारेमा जानकारी दिए आफूहरू सहयोग गर्न तयार रहेको उनको भनाइ छ।
राजविराज विमानस्थलबाट जनवरीसम्ममा २ सय ८६ फ्लाइट भएका छन् भने १० हजार ८ सय ५७ जनाले विमान सेवा लिएको कार्यालयका प्रमुख पन्तले जानकारी दिए।
तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले २०१६ सालमा राजविराज विमानस्थलको उद्घाटन गरेका थिए।
राजविराज नगरपालिकाबाट ४ किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा अवस्थित विमानस्थल निर्माणका लागि स्थानीय रुद्रनारायाण सिंहले ५५ विगाह जग्गा उपलब्ध गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।