उच्च रक्तचापलाई सुषुप्त हत्यारा अर्थात् साइलेन्ट किलर भनिन्छ । आधाभन्दा बढी उच्च रक्तचाप भएका मानिसमा यस रोगको लक्षण नदेखिने भएकाले सुषुप्त हत्यारा भनिएको हो । उच्च रक्तचाप भएकामध्ये ६० प्रतिशतलाई आफूलाई उच्च रक्तचापले पीडित भएको पनि थाहा छैन । अर्कोतिर उच्च रक्तचाप भएकामध्ये ९३ प्रतिशत मानिसको रक्तचाप नियन्त्रणमा छैन ।
रक्तचाप १४०/९० भन्दा बढी भएका व्यक्तिले तुरुन्तै जीवनशैली परिवर्तन गरी आवश्यक उपचार गर्नुपर्छ । मधुमेह, मिर्गौला रोग, हृदयाघात भएका व्यक्तिले त रक्तचाप १३०/८० भन्दा बढी भएमा बिशेष ध्यान दिनु पर्छ । रक्तचाप १२०/८० वा सो भन्दा कम छ भने त्यो सामान्य रक्तचाप हो । उच्च रक्तचापले हृदयघात, स्ट्रोक, मुटु र मिर्गौलाले काम नगर्ने, आँखा ड्यामेज हुने भएकाले यसको समयमै उपचार गर्नुपर्छ । समयमै उच्च रक्तचाप पत्ता लगाएर नियन्त्रणमा लिन सकेमा धेरै हदसम्म यसबाट हुने क्षतिबाट बँच्न सकिन्छ ।
नेपालका शहरी क्षेत्रका १८ वर्षमाथिका २५ देखि ३० प्रतिशत व्यक्तिमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । नेपालको जनस्वास्थ्य नीति कमजोर रहेकाले उच्च रक्तचापबारे सचेतना पुग्न सकेको छैन । यो रोग रोकथाम गर्न सकिने समस्या भएकाले सचेतना अभिवृद्धि गर्नु जरुरी छ ।
१८ देखि ३० वर्षका युवाले आफ्नो रक्तचाप ठीक नै भए पनि कम्तिमा ३ देखि ५ वर्षमा एकपटक रक्तचाप परीक्षण गर्नु जरुरी छ । ३० देखि ४० वर्षका व्यक्तिले कम्तीमा वर्षको एकपटक र ४० वर्ष नाघेकाले मासिक रुपमा रक्तचाप परीक्षण गर्नुपर्छ । उच्च रक्तचापको समस्या भएका बिरामीले उपचार प्रक्रिया चिकित्सकलाई नै निर्धारण गर्न दिनुपर्छ । आफूखुसी औषधि सेवन गर्ने र छाड्ने गरेमा खतरनाक हुन्छ ।
मोटोपनाको कारणले पनि उच्च रक्तचाप हुने हँुदा मोटो व्यक्तिले आलुलाई तरकारीको रुपमा लिनु हुदैन । आलुमा कार्वोहाइड्रेटको मात्रा बढी हुने भएकाले आलु खानु हुदैन । नेपालमा उच्च रक्तचापको औषधि भन्नेबित्तिकै डराउने गरेको पाइन्छ । तर म औषधि सुरक्षित हुने भएकाले नडराई सेवन गर्न आग्रह गर्दछु । जीवनभर औषधि गर्नुपर्ने, औषधिका कारण मिर्गौला र कलेजोमा समस्या आउने भन्दै औषधि खान डराउने चलन छ । तर, यो भ्रम मात्र हो । बरु उच्च रक्तचापको औषधि सेवनबाट हामी मधुमेहको समस्याबाट बँच्छौं भने मिर्गौला र कलेजो बचाँउन सक्छौं ।
उच्च रक्तचापको औषधिले खुट्टा सुन्निने, सुख्खा खोकी लाग्ने, थकाई लाग्ने, यौन इच्छामा कमी हुनेलगायतका असर देखाउन सक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह अनुसार औषधि परिवर्तन गर्न पनि सकिन्छ । औषधि परिवर्तन गरेपछि समस्या आफैं समाधान भएर जान्छ ।




लगभग ५ प्रतिशत मनिसलाई जीवनशैली बाहेकका कारणले पनि उच्च रक्तचाप हुन सक्छ । जसलाई सेकेन्ड्री हाइपरटेन्सन भनिन्छ । उपचारपश्चात् वा जीवनशैली परिवर्तनले पनि रक्तचाप घटेन भने सेकेन्ड्री रक्तचाप वंशाणुगत, क्यान्सरलगायतका कारणले हुन्छ । सेकेन्डरी रत्तचापको कारण पत्ता लगाएर त्यसको उपचार गर्नुपर्छ ।
यदि रक्तचाप बढेर टाउको दुख्ने, दृष्टि धमिलो हुने, बेहोस हुने, छाती बढी दुख्ने भएको छ भने आकस्मिक उपचारमा जानु पर्छ । यस्तो अवस्थामा समयमै उपचार नगरे हृदयाघात र मस्तिष्कघातको संभावना अत्याधिक हुन्छ ।
सचेतना जगाउने र गाँउ तहसम्म औषधि पु¥याउन सके उच्च रक्तचापका कारणले हुने मृत्यु र जटिल असर कम गर्न सकिन्छ । अव यो रोगबारे नीतिगत रुपमै व्यवस्था हुनुपर्ने अवस्था आइसकेकाले सरकारले यसलाई समयमै ध्यान पु¥याउनु पर्छ । मुटु रोगका लागि रोकथाम नै सबभन्दा महत्वपूर्ण विधि हो । हामी चिकित्साविज्ञानलाई आत्मसात गरी सुरक्षित र सुखी जीवन विताउन अग्रसर हुनु पर्छ ।
उच्च रक्तचापको कारण
– धूमपान
– सूर्ती सेवन
– रक्सी सेवन
– व्यायामको कमी
– मेटोपना
– भुँडी बढ्नु
– चिल्लो, नुनीलो खाना
– बढी क्यालोरी
बच्ने उपाय
– नुन र चिल्लो कम खाने
– नियमित व्यायाम गर्ने
– रक्सी सेवन कम गर्ने वा छाड्ने
– फाइवरयुक्त भोजन गर्ने
– फलफूल र सागसब्जी बढी खाने
– खाना कम खाने
– तौल नियन्त्रणमा राख्ने
– कार्बोहाइड्रेट कम खाने
डा. दिवाकर शर्मा, बरिष्ठ मुटुरोग विशेषज्ञ, शहीद गंगालाल हृदय केन्द्र
(डा. शर्मासँग गरिएको कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।