काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आफ्नो सचिवालयमा कार्यरत रहेका एक 'जुनियर' उपसचिवलाई ऋण असुली न्यायाधीकरणको अध्यक्षमा सिफारिस गराएका छन्।
न्याय सेवा आयोगबाट २०७१ सालमा उपसचिव भएका गोविन्द खनाललाई मन्त्री ढकालको दबाबमा बिहीबार न्यायाधीश सरहको न्यायाधिकरणको अध्यक्षमा सिफारिस गरिएकाे हाे।कानुन समूहको बरियतामा उनी ३८औं नम्बरमा छन्। उनीभन्दा अगाडि २९ जना उपसचिवहरु रहेका छन्।
हाल उपसचिवको पहिलो नम्बरमा हुमबहादुर केसी रहेका छन् भने दोस्रो नम्बरमा टिकाराम पाण्डे छन्। केसी र पाण्डेको कार्यक्षमता कानुन मन्त्रालयमा अब्बल रहेको मानिन्छ।
केही समय पहिले न्याय परिषद्ले पनि वरिष्ठताकाे क्रम मिचेर न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको थियो। मर्यादाक्रममा १६औं स्थानमा रहेका चन्द्रकान्त पौडेल र २०औं स्थानमा रहेका माधवप्रसाद सुवेदी जिल्ला न्यायाधीशका लागि सिफारिस भएका थिए।
साे समयमा पनि तत्कालीन नेकपा (एमाले) निकट व्यक्तिहरुलाई वरिष्ठताकाे क्रम मिचेर न्यायाधीश बनाएको आरोप लागेकाे थियो। न्याय सेवा आयोगमा प्रधानन्यायाधीश, कानुनमन्त्री, वरिष्ठ न्यायाधीश, लोकसेवा आयोगको अध्यक्ष, महान्यायाधीवक्ता र न्याय परिषद्को सचिव रहने गर्दछन्।
यसअघि न्यायाधीकरणमा वरिष्ठतम् उपसचिवलाई पठाउने गरिन्थ्यो। न्यायाधीकरणमा हाल लेखा सदस्य जयदेव श्रेष्ठमात्र कार्यरत छन्।
न्याय सेवा आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गर्ने कानुनी व्यवस्था छ। खनालको सिफारिससम्बन्धी आयोगको निर्णय भने गोप्य राखिएको छ।
तर, न्यायसेवा आयोगका एक सदस्यले जिल्ला न्यायाधीश हुन योग्यता पुगेका व्यक्तिलाई कानुनमन्त्रीले प्रस्ताव राखेपछि सर्वसम्मत सिफारिस भएको बताए। कानुन समूहको ३ वर्ष उपसचिव भएको व्यक्ति उक्त पदमा सिफारिस हुने भएकाले खनालको नाम सिफारिस भएको ती सदस्यले बताए।
खनाल २०७१ फागुन ४ गते देखि उपसचिव पदमा कार्यरत छन्। 'जुनियर' व्यक्तिलाई कानुनमन्त्रीले एकल निर्णय गरेर त्यसलाई आयोगबाट सिफारिस गराइएको भन्दै कानुन सेवाका कर्मचारी भने असन्तुष्ट देखिएका छन्। न्याय समूहबाट कानुनमा आएका उनी पछिल्लो पटक नेकपा निकट मानिन्छन्।
२०६६ देखि उपसचिव रहेका व्यक्तिहरुलाई छोडेर २०७१ मा उपसचिवका खनाललाई सिफारिस गरेपछि कानुनतर्फका कर्मचारीहरुले कानुन सचिव राजिव गौतमलाई गुनासो समेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।