रगतमा हेमोग्लोबिनको मात्रा घटबढ हुने धेरै कारण हुन्छन् । साधारण खानपानको कमी देखि लिएर रगतको क्यान्सरसम्मले हेमोग्लोबिनको मात्रा घटबढ भएको पाइन्छ । हेमोग्लोबिन घटबढ हुने प्रमुख कारण मध्ये खानामा सन्तुलित भोजनको कमि, शरीरबाट बढी रक्तस्राव, बनेको रगत फुट्ने आदि पर्दछन् । वोनम्यारोमा रगत बन्ने हुँदा त्यसमा समस्या भएमा पनि हेमोग्लोविनको मात्रा घटबढ हुन्छ ।
रक्तअल्पता
रगतमा हेमोग्लोबिनको मात्रा कम भएमा त्यसलाई रक्तअल्पता भनिन्छ । यदि कसैलाई रक्तअल्पता भएको थाहा भएमा त्यसको कारण पत्ता लगाउन जरुरी छ । रक्तअल्पता आफैमा रोग नभई रोगको लक्षण हो । रोगको जरासम्म पुग्न एकदमै जरुरत छ, रक्तअल्पतामा केही समय औषधिको सेवनले रगत बढ्न सक्छ तर केही समय पछि हेमोग्लोबिन फेरी घट्दछ ।
रगतमा हेमोग्लोबिनको मात्रा कम हुन गएमा व्यक्तिले थकान महसुस गर्ने, भ¥याङ्ग चढ्दा वा उकालो चड्दा बढी स्वाँस्वाँ हुने, खुट्टाहरु सिथिल हुने, मुटुको धडकन बढेको जस्तो हुने लक्षण देखिन्छ । कसैकसैमा हेमोग्लोबिन कम हुदा जण्डिस पनि देखिन्छ र उपचार गराउदै जाँदा जण्डिस पनि कमहँुदै जान्छ ।
बढी देखिने रक्तअल्पता
नेपालमा आइरन र भिटामिन बि १२ ले कमि हुने रक्तअल्पता नै बढी देखिन्छ । बच्चाबच्चिमा आइरनको कमिले, युवतिहरुमा महिनावारीमा रगत धेरै बगेर र बुढाबुढीमा शरीरको अन्य कुनै भागबाट रगत बगेर आइरनको कमि हुन्छ । आइरन कमि देखियो भन्दैमा आइरन चक्कि खाएर मात्र हुदैन । युवतीहरुले महिनावारीमा किन रगत धेरै बगेको हो भन्ने पत्ता लगाउनुपर्छ र त्यसैगरी बुढाबुढीले कुन भागबाट रगत बगेको हो पत्ता लगाउनु पर्छ । त्यसको उपचार सँगै आइरन चक्किको पनि सेवन गर्नुपर्छ । हाम्रो देशमा भिटामिन बि १२ को कमिले पनि रक्तअल्पता भएकाहरु धेरै देखिन्छन् । यसमा धेरै भेजिटेवल खाना खानेहरु पर्दछन् । त्यसैले सागपात नखाने, रक्सि बढी सेवनहरुमा फोलिक एसिडको कमिले गर्दा हुने रक्तअल्पता पनि देखिन्छ ।
बोनम्यारो सुक्ने रोग (अप्लास्टिक एनीमिया) र रगत क्यान्सरमा देखिने रक्तअल्पता
नेपालमा बोनम्यारो सुक्ने रोग पनि अरु देशको अनुपातमा बढी नै देखिएको छ । यस रोगमा हेमोग्लोबिन मात्र कम नभएर डब्लुबिसी र प्लेटलेट पनि कम हुन्छ । यस्ता बिरामीहरुलाई ज्वरो आइरहने, र शरीरको विभिन्न भागबाट रगत बगिरहने समस्या हुन्छ । धेरैले यो रोगलाई रगतको क्यान्सर भएको भन्दारहेछन्, बोनम्यारो सुक्ने रोग रगतको क्यान्सर चाँहि होइन तर यसको लक्षण रगतको क्यान्सर जस्तै हुन्छ । त्यसरी नै रगतको क्यान्सरमा पनि रक्तअल्पता हुन्छ, साधारण रगतको जाँच गर्दा खेरी नै रगतको क्यान्सर पत्तालाग्न सक्छ ।
हेमोग्लोबिन बढ्ने रोग
यदि शरीमा हेमोग्लोबिन बढी देखिएमा त्यसको पनि उपचार गर्न जरुरी हुन्छ । हेमोग्लोबिन बढी हुने रोगलाई पोलीसाइथेमीया भनिन्छ । र यसलाइ प्राइमरी पोलीसाइथेमीया र सेकेन्ड्री पोलीसाइथेमीयामा विभाजन गरिएको छ । प्राइमरी पोलीसाइथेमीया रगतको क्यान्सर पनि हो । सेकेन्ड्री पोलीसाइथेमीयामा रक्सि बढी खाने, चुरोटको सेवन गर्ने, दम, मुटुको रोगीमा र कुनैकुनै मृर्गौलाको रोगमा पनि देखिन्छ । यी दुई किसिमका रोगलाई छुट्टाउनु साह्रै नै जरुरत छ । किनकि यिनको उपचार पनि भिन्नभिन्न छन् ।
रगतको क्यान्सर बारे हुनुपर्ने कुरा रगतको क्यान्सर भन्ने बित्तिकै डराईहाल्नु पर्ने स्थिति अहिले छैन । रगतको क्यान्सर पनि धेरै किसिमका हुन्छन् र धेरै जसोको उपचार गर्न सकिन्छ ।
डा. विशेष पौड्याल, क्लिनिकल हेमोटोलोजिष्ट तथा वोनम्यारो प्रत्यारोपण फिजिसीयन, निजामती कर्मचारी अस्पताल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।